
पोखराको रामबजारस्थित कालिका माविले १६ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ।
कालिकाले प्रतियोगिताको ८ स्वर्ण, ६ रजत र ३ कास्यसहित कुल १७ पदक हात पार्दै च्याम्पियन बनेको हो।
यस्तै, शहीद स्मृति मावि दोस्रो बन्यो।
सहिद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १५ पदक जित्यो।
सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ कास्य गरेर कुल १४ पदक हात पार्दै तेस्रो बन्यो।
पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारकाअनुसार प्रतियोगितामा कुल ४०४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजारभन्दा बढि विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा विधा समावेश गरिएको थियो।
कबड्डीतर्फ छात्रामा रामेश्वरी माविले स्वर्ण, सहीद स्मृति आवासीय माविले रजत र प्रतिभा मावि तथा कालिका माविले कास्य पदक जित्यो।
छात्रतर्फको कबड्डीमा कालिका माविले स्वर्ण, प्रतिभा माविले रजत र गौरीशंकर मावि तथा भवानी कालिका माविले कास्य पदक जित्यो।
कबड्डीमा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवैले समान १२/१२ हजार रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे।
भलिबल छात्रामा शान्ता माविले स्वर्ण, कालिका माविले रजत र टप्स बोडिङ स्कुलले कास्य पदक जित्यो।
छात्रतर्फको भलिबलमा पोखरा युनाइटेड एकेडेमीले स्वर्ण, प्रतिभा माविले रजत र गुरुकुल विद्यासदनले कास्य पदक जित्यो।
भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे।
एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम बन्यो।
कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए।
छात्रातर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए।
करातेतर्फ ४१ विद्यालयका छात्रतर्फ ६० र छात्रातर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेका थिए।
मार्चपासमा रत्नज्योति मावि प्रथम बन्यो।
कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए।
मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए।
मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे।
विजेतालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारीलगायतले पुरस्कार वितरण गरे।
प्रतियोगिता ३ दिनसम्म चलेको थियो।