टिकटक विवादमा चीनले अमेरिकासँग समाधान खोज्दै

टिकटकसम्बन्धी विषय समाधान भए चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध अझ स्थिर, राम्रो र दिगो हुने चीनको विश्वास

जनसम्मत
पौष १४, २०८२, सोमबार

चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले ३ जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो।

मन्त्रालयका अनुसार चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन वार्तापछि दुवै देशका आर्थिक र व्यापारिक टोलीहरूले टिकटकको विषय शान्तिपूर्ण र आपसी समझदारीका आधारमा समाधान गर्ने प्रारम्भिक सहमति गरेका थिए।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले सम्बन्धित कम्पनीहरूले चिनियाँ कानुनको पालना गर्दै सबै पक्षलाई फाइदा हुने समाधान निकाल्ने अपेक्षा चीनले राखेको बताए।

उनले अमेरिकाले पनि चीनसँग सहकार्य गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्ने र चिनियाँ कम्पनीहरूलाई अमेरिकामा निष्पक्ष, खुला र भेदभावरहित व्यावसायिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे।

चीनले टिकटकसम्बन्धी विषय समाधान भए चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध अझ स्थिर, राम्रो र दिगो हुने अपेक्षा गरेको छ।