न्यु डायमन्डले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

विभागीय पुलिसलाई ३–१ को सेटमा हराउँदै न्यु डायमन्डले उपाधि हात पार्‍यो

जनसम्मत
पौष २६, २०८२, शनिबार

न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

काठमाण्डौको त्रिपुरेश्वरस्थित कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो।

न्यु डायमन्डले सुरुवाती पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै, दोश्रो सेट २५–१८ ले सहज जीत निकाल्यो।

प्रतिस्पर्धात्मक चौथो सेट २७–२५ ले जित्यो।

पुलिसले तेश्रो सेट २५–१५ ले खेलमा फर्कियो।

यसअघि, शनिबार नै भएको तेश्रो स्थानका लागि भएको खेलमा विभागीय सशस्त्र प्रहरीको एपीएफले अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो।

एपीएफले पहिलो सेट २५–१३, २५–२३ र २५–१८ ले जित्यो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।

४ टोली सहभागी प्रतियोगिताको विजेता न्यु डायमन्डले उपाधिसहित ५ लाख रुपैयाँ नगद पुरस्कार जित्यो।

उपविजेता विभागीय पुलिसले २ लाख ५० हजार पुरस्कार जित्यो।

तेस्रो भएको एपीएफले १ लाख २५ हजार र चौथो भएको आर्मीले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

विधागत टाइटलमा पनि न्यु डायमन्डकै वर्चस्व

प्रतियोगिताको विधागत टाइटलमा पनि न्यु डायमन्डकै वर्चस्व कायम गरेका छन्।

विजेता टोली न्यु डायमन्डकी महत्वपूर्ण खेलाडी प्रतिभा माली ‘बेस्ट प्लेयर’ चुनिइन्।

‘बेस्ट प्लेयर’ बनेकी प्रतिभाले नगद ५० हजार रुपैयाँ र ट्रफी पुरस्कार जितिन्।

त्यस्तै, विजेता टोली न्यु डायमन्डकै प्रशिक्षक कुमार राई ‘बेस्ट कोच’ बने।

न्यु डायमन्डकै सलिना बुढामगर इमर्जिङ प्लेयर घोषित भइन्।

न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो बनिन्।

न्यु डायमन्डकै प्रगतिनाथ उत्कृष्ट सेटर बनिन्।

न्यु डायमन्डकै सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर घोषित भइन्।

विभागीय एपीएफकी मिना सुनुवार बेस्ट स्पाइकर घोषित भइन्।

विभागीय पुलिसकी पुनम चन्द बेस्ट सर्भर बनिन्।

उनीहरुले समान २५/२५ हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार जिते।