
पोखराको अमरसिंहचौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ।
पोखराको स्थानीय युनाइटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन्।
महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको औंल्याइन्।
पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवर्द्धन र आर्थिक चलायमानमा समेत टेवा पुर्याउने उनको भनाई थियो।
आफुले पोखरामा अध्ययन गर्दा होस वा पोखरामा पर्यटन वोर्डको प्रमुखमा रहेर काम गर्दाको समयमा पोखरेलीहरु पर्यटन प्रवर्द्धनमा अग्रसर रहेको आफुले महशुस गरेको बताइन्।
मन्त्री श्रेष्ठले पोखरा महोत्सव समेत त्यसको एक उदाहरण रहेको उल्लेख गरिन्।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले कार्यक्रममा वोल्दै युनाइटेड क्लब पोखराले महोत्सवकै आयोजना गरी पोखरामा चिडियाखानाको अवधारणा लिएर काम गरेको उल्लेख गरे।
उक्त योजनालाई हाल आएर प्रदेश सरकारले चिडियाखाना निर्माणको कामलाई अगाडी बढाइरहेको उल्लेख गरे।
त्यसैगरी, युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनसँगै हाल लेखनाथमा निर्माण भइरहेको छात्राबासलाई समेत प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
त्यस्तै, गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले युनाइटेड क्लबले सामाजिक कामलाई निरन्तरता दिइरहेको उल्लेख गरे।
त्यसैगरी, गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ ‘श्याम’ ले युनाइटेड क्लबलाई आफुले नजिकबाट नियाल्दै आइरहेको बताए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङ ‘करण’, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, बन्दीपुर केबुलकारकाका उपाध्यक्ष किरण पोखरेल, प्रध्यापक डा. कृष्ण केसी, अमरसिंह माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला, पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठलगायतले बोलेका थिए।
त्यसैगरी, नेपाली फिल्मका चर्चित कलाकार विपिन कार्की र बिजय बरालले आ आफ्नो प्रस्तुति राखेका थिए।
क्लबका अध्यक्ष तथा १४ औं पोखरा महोत्सव मुल समारोहकाका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य र सचिव दिनेश सुनारले कार्यक्रम संचालन गरेका थिए।
यसैगरी, महोत्सव पूर्व पोखरा रंगशालाबाट आयोजना गरिएको झाँकी तथा र्यालीमा ३ सय भन्दा वढी संघसंस्था तथा आमा समुहको सहभागिता थियो।
उक्त र्यालीमा सिमलमार्ग टोल बिकास संस्था पोखरा १० प्रथम, नयाँगाउँ प्रतिभा टोल आमा समुह पोखरा–१५ दोश्रो, सानीमजुवा आमा समुह पोखरा–१५ तेश्रो र सुनकोशी आमा समुह पोखरा–१० र नेपाल मगर संघ कदममार्ग पोखरा–१४ ले शान्त्वना पुरस्कार प्राप्त गरे।
त्यस्तै, झाँकीतर्फ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रामबजार प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज पोखरा–१० दोश्रो, पैmंकु समाज सेतीनहर मार्ग पोखरा–१२ तेस्रो र नेपाल मगर संघ रामबजार इकाइले सान्तवना स्थान हासिल गरे।
महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ सम्झना लामिछाने, कृष्ण सुवेदी, माया गुरुङलगायतको प्रस्तुती रहेको थियो।
साँंझको लाइभ ब्याण्डतर्फ अन्तरवाणी, रोहितजंग एण्ड कलेक्टीभलगायतको प्रस्तुति थियो।
महोत्सवमा बुधवार लोकदोहोरीतर्फ रबि कार्की, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, सबिना गुरुङ, केशब देवकोटा, टस गुरुङ, दुर्गा क्षत्री, रमा गौतमलगायतकोे प्रस्तुती रहने महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।