नेपाली महिला टोलीले आइसीसी महिला टी-२० अभ्यास खेलमा अमेरिकालाई हरायो

अमेरिका घरेलु टोलीसँग ४ विकेटले पराजित

जनसम्मत
पौष २७, २०८२, आइतबार

नेपाली महिला टोलीले आइसीसी महिला टी–२० अभ्यास खेलमा अमेरिकामाथि ४ विकेटले जीत निकालेको छ।

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई हराएको हो।

अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

नेपालकी सम्झना खड्काले सर्वाधिक ४९ रन बनाइन्।

त्यस्तै, पूजा महतोले ४३ रन जोडिन्।

अमेरिकाकी तारा नोरिस र लेखा सेट्टीले २/२ विकेट लिए।

यसअघि, माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो।

अमेरिकाकी एला क्लारिजले सर्वाधिक ३९ रन बनाइन्।

नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन्।

यसअघिको २ वटै अभ्यास खेलमा नेपाल पराजित भएको थियो।

नेपाल, पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो।

आइतबारको तेस्रो अभ्यास खेलमा नेपालले जिम्बावेसँग खेल्ने तालिका भएपनि अन्तिम समयमा आएर टोली परिवर्तन भएको थियो।

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आउँदो माघ ४ गतेदेखि त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा सुरू हुँदैछ।

नेपालले समूह चरणका ४ वटै खेल त्रिवि मैदानमा खेल्नेछ।

प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।

१० वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुआ न्यु गिनी (पीएनजी), नामिबिया र अमेरिका छन्।

यस्तै, समूह ‘बी’ मा आयोजक नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स छन्।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन्।

‘सुपर–सिक्स’बाट शीर्ष ४ वटा टोली आउँदो वर्ष इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।