महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो हार

घरेलु नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

जनसम्मत
माघ ८, २०८२, बिहीवार

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो पटक हार ब्यहोरेको छ।

आफ्नो दोस्रो खेलमा घरेलु नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो।

नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो।

नेपालकी रुबिना क्षत्रीले नटआउट सर्वाधिक ३७ बनाइन्।

त्यस्तै, सीता रानामगरले नटआउट २७ रन जोडिन्।

नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले ३ विकेट लिइन्।

त्यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो।

नेदरल्यान्ड्सकी बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन्।

नेपालकी रुबिना क्षत्रीले २ विकेट लिइन्।

यसअघि, पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।

नेदरल्यान्ड्सको भने यो लगातार तेस्रो जीत हो।

१० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन्।

‘सुपर–सिक्स’ बाट शीर्ष ४ टोली आउँदो वर्ष इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।