टाइगर कप भलिबल: पुरुषतर्फ पुलिसविरुद्ध गण्डकीको सहज जीत

पर्वत भलिबल संघको लगातार तेस्रो जीत

जनसम्मत
माघ १३, २०८२, मंगलवार

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पुरुषतर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत मंगलबारको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्‍यो।

पर्वत भलिबल संघको लगातार तेस्रो जीत

 

च्याम्पियनसीपअन्तर्गत यसअघि आज (मंगलबार) नै भएको पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गर्‍यो।

पर्वतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकालेको थियो।

चार खेल खेलेको पर्वतले विभागीग नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको थियो।

माल्दिभ्स भलिबलले भने लगातार चौथो हार ब्यहोरेको छ।

च्याम्पियनसीपअन्तर्गत भोलि (बुधबार) ४ खेल हुनेछन्।

पहिलो खेल महिलातर्फ विभागीय डर्बी एपीएफ र पुलिसबीच हुनेछ।

उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ।

त्यसपछि महिलातर्फ नै न्यु डायमण्ड र थाइल्याण्ड क्वीन्स भिड्नेछन्।

भोलिको तेस्रो खेल पुरुषतर्फ विभागीय पुलिस र माल्दिभ्सबीच हुनेछ।

त्यसपछि, भोलिको अन्तिम खेल विभागीय डर्बीमा एपीएफ र आर्मीबिच हुने तालिका छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।

महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ।