टी–२० विश्वकप अघिको अभ्यास खेल: नेपालले युएईलाई ७ विकेटले हरायो

नेपालले दोस्रो अभ्यास खेल पर्सि (शुक्रबार) क्यानडासँग खेल्नेछ

जनसम्मत
माघ २१, २०८२, बुधबार

आइसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ।

भारतको चेन्नईमा गएराति सम्पन्न भएको खेलमा युएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १ सय ३ रनको साझेदारी गरे।

आरिफले ३७ बलमा ६१ र दीपेन्द्रले ३१ बलमा ५० रन बनाए।

कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख रन आउट भए।

रोहितले १६ रन थपे।

आसिफ र अर्का ओपनर कुशल भुर्तेलले समान ८ रन जोडे।

टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो।

युएईका एस खानले सर्वाधिक ३८ रन बनाए।

त्यस्तै, एच कौसिकले ३५ रन जोडे।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए।

नेपालले दोस्रो अभ्यास खेल पर्सि क्यानडासँग खेल्नेछ।