लगातार तेस्रो हारसँगै नेपाल टी–२० विश्वकपको समूह चरणबाटै बाहिरियो

वेस्ट इन्डिजले ‘सुपर ८’ मा स्थान बनायो, नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए, जारी विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो

जनसम्मत
फागुन ३, २०८२, आइतबार

लगातार तेस्रो हारसँगै नेपाल टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आइसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको हो।

लगातार तेस्रो हारसँगै नेपाल टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिने दोस्रो टोली बन्यो।

यसअघि, ओमान समूह चरणबाटै बाहिरिएको थियो।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज (आइतबार) भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो।

नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो।

वेस्ट इन्डिजका कप्तान शाई होपले सर्वाधिक नटआउट ६१ रन बनाए।

त्यस्तै, शिमरन हेटमायरले नटआउट ४६ रन बनाए।

नेपालका नन्दन यादवले १ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो।

नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए।

दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए।

यस्तै, सोमपाल कामीले नटआउट २६ रन थपे।

यो विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो।

वेस्ट इन्डिजका जोसन होल्डरले ४ विकेट लिए।

नेपालका खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका हुन्।

यसअघि, सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगको खेलमा अर्धशतक बनाएका थिए।

यस्तै, यो खेलमा सोमपालले इतिहास रचेका छन्।

उनी नेपालका लागि ३ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बनेका हुन्।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित बनेको थियो।

दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो।

अब, नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि स्कटल्यान्डसँग खेल्नेछ।

वेस्ट इन्डिज भने लगातार तेस्रो जीतसँगै समूह ‘सी’ बाट ‘सुपर ८’ मा पुगेको छ।

वेस्ट इन्डिज ‘सुपर ८’ मा पुग्ने पहिलो टोलीसमेत बनेको छ।

टी–२० विश्वकपमा अहिले दिउँसो सवा ३ बजे अमेरिका र नामिबियाबीच खेल हुँदैछ।

त्यस्तै, बेलुकी सवा ७ बजे भारत र पाकिस्तानले खेल्दैछन्।