कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङसम्बन्धी तालिम

तालिममा निर्वाचनसम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशीलतालगायतका विषयहरु अभिुखीकरण गरिनेछ

जनसम्मत
माघ २८, २०८२, बुधबार

कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङसम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ।

नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले एक कार्यक्रमबीच तालिमको शुभारम्भ गरे।

उनले निवार्चनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन संचारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य, निष्पक्ष र स्वतन्त्र बनाउन महासंघले तालिम आयोजना गरेकोमा उनले धन्यवाद दिए।

गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले निवार्चन आचारसहिंत र निर्वाचन प्रक्रियाका बारेमा आफ्नो प्रस्तुतिकरण राखे।

पत्रकारले निर्वाचनका बेला आफ्नो पक्षधरता नदेखाई स्वतन्त्र रुपमा आम जनतामाझ यथार्थ सूचना प्रकाशन र प्रसारण गर्नुपर्नेमा जोड दिए।

तालिममा समाधान दैनिकाका प्रधान संपादक पत्रकार भरत कोइरालाले पत्रकारले निवार्चन रिपोर्टिङका क्रममा बटुलेको अनुभव सुनाउँदै आमसंचार माध्यमले पाठक, स्रोता र दर्शकप्रतिको विश्वास नगुमाउन निष्पक्ष एवं तथ्यपरक समाचार प्रकाशन गर्नुपर्ने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन पत्रकारिताको पनि भूमिका रहने भएकाले निर्वाचनसम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताए।

अध्यक्ष बरालले पत्रकारिता जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्नेमा जोड दिए।

अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले स्वागत र सचिव भुपाल गुरुङले संचालन गरेका थिए।

विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार तालिममा सहभागी भएको सह–सचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिए।

बिहीबारसम्म संचालन हुने तालिममा निर्वाचनसम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशीलतालगायतका विषय समेटिएका छन्।