
निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु तालिम सकिएको हो।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले तालिमको समापन गर्दै निर्वाचन लोकतन्त्रको उत्सब भएको बताउँदै पत्रकारले निर्वाचनका बेला सवेदनशील भएर निष्पक्ष समाचार जनतामाझ पस्कनुपर्नेमा जोड दिइन्।
भण्डारीले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम संचारको भूमिकालाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवादसमेत दिइन्।
तालिममा सहभागीहरुमध्येबाट आफ्नो अनुभव सुनाउदै पत्रकार शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले तालिमले निर्वाचन प्रक्रियासहित रिपोर्टिङबारे जानकारी प्राप्त भएको र सिकेका कुरालाई ध्यानमा राखेर कार्यक्षेत्रमा खटिने प्रतिबद्धता जनाए।
तालिममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकाका प्रधान संम्पादक पत्रकार भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश पाण्डे, कास्की निर्वाचन क्षेत्र नं २ का साहयक निर्वाचन अधिकृत दिपक गिरीले प्रस्तुतिकरण राखेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन पत्रकारिताको भूमिका रहने भएकाले निर्वाचनसम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताए।
तालिमप्राप्त ज्ञानलाई सहभागीले आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने बरालले बताए।
उनले पत्रकारिता जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्नेमा जोड दिए।
विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार सहभागी भएको तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशीलता लगायतका विषयहरु समेटिएको सह–सचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिए।
महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भुपाल गुरुङले गरेका थिए।