
पत्रकार रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवस अवसरमा कास्की शाखाले बिहीबार आयोजना गरेको समारोहमा उनलाई पुरस्कार प्रदान गरेको हो।
प्रेस चौतारी कास्कीले लम्साललाई पुरस्कारस्वरुप नगद २२,२२२ रुपैयाँ प्रदान गर्यो।
सो अवसरमा आदर्श समाजकर्मी विष्णुप्रसाद सापकोटालाई प्रेस चौतारी पत्रकारिता सम्मान अर्पण गरेको छ।
प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सचिव खगराज अधिकारीले सम्मानपत्र र दोसल्लासहित दुवैलाई सम्मान गरेका हुन्।
कार्यक्रममा एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताए।
पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो।
जसमा पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य, संगठनका अध्यक्ष मोतीसागर अधिकारी र सचिव अनुप पौडेल पदेनसदस्य थिए।
पोखरा–३३, भरतपोखरी, डाँडागाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्।
२०५५ सालमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो वाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ।
उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन्।
वाणिज्य शास्त्रमा स्नातकोत्तर लम्साल रसियन भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक पनि हुन्।
उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान–२०७९ प्रदान गरेको थियो।
यसअघि, यो पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीविनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधवप्रसाद बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन्।
यसैगरी, मादी–४, तारकाङका सापकोटा २०५८ सालदेखि पत्रकारितामा प्रवेश गरेका हुन्।
उनी लामो समयदेखि आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन्।
मुख्यत: संचारमाध्यमको व्यवस्थापकीय पाटोमा सक्रिय उनलाई सांगठनिक सकृयता र योगदानको कदर स्वरुप सम्मान गरिएको प्रेस चौतारीले जनाएको छ।
नेपाल पत्रकार महासंघ कास्की सदस्य उनी २०६१ सालदेखि प्रेस चौतारी नेपाल कास्कीमा आबद्ध छन्।
उनी संस्थाका पूर्व कोषाध्यक्षसमेत हुन्।
उनी, आदर्श समाज दैनिकबाट उत्कृष्ट कर्मचारी सम्मान–२०७२, चलचित्र पत्रकार संघ नेपाल कास्कीद्वारा २०८० मा सम्मानीत भइसकेका छन्।
यसअघि, प्रेस चौतारी सम्मान राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिएको थियो।