
नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिग २०२६ मा प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आइतबार माल्दिभ्सको मालेमा रहेको सोसाइटी सेन्टस इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टोली हुर्रा कम्युनिटी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
खेलको पहिलो सेटमा पुलिसले सुरुदेखि नै नियन्त्रण कायम गर्दै २५–१९ को जीत निकाल्यो।
दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो।
जहाँ हुर्राले कडा चुनौती दिएपनि पुलिसले अन्तिम क्षणमा सम्हालिँदै २६–२४ ले सेट आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा पुलिस अझै आक्रामक देखियो।
तेस्रो तथा अन्तिम सेटमा २५–१६ को सहज जीत निकालेसँगै पुलिसले खेललाई सुखद् अन्त्य गर्यो।
प्रतियोगितामा पुलिसको यो दोस्रो जीत हो।