पत्रकारका लागि पोखरामा साइबर सुरक्षासम्बन्धी तालिम सुरु

‘डिजिटल सिकारबाट बच्न पहिला आफै सजग हुनपर्छ’

जनसम्मत
फागुन १०, २०८२, आइतबार

कास्कीमा क्रियाशील पत्रकारहरुका लागि साइबर सुरक्षासम्बन्धी ३ दिने तालिम सुरु भएको छ।

नेपाल पत्रकार महासंघ कास्कीको आयोजना, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा तालिम संचालन गरेको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तालिमको शुभारम्भ गरिन्।

कार्यक्रममा बोल्दै प्रजिअ शर्माले डिजिटल युगमा साइबर अबराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न हरेक व्यक्तिलाई साइबर सुरक्षाबारे जानकारी हुनुपर्ने औंल्याइन्।

शर्माले उल्लेख गरिन्, ‘संचार माध्यममा आवद्घ पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको तालिमले संचार जगतलाई मात्र नभएर समाज र राज्यसंयन्त्रलाई पनि साइबरजन्य अपराधबाट बच्न तथा डिजिटल सुरक्षा अपनाउन सहयोग पुग्छ।’

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले तालिमले पत्रकार स्वयंलाई डिजिटल प्रविधिमार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताए।

क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि पाण्डेले अहिलेको युगमा साइबर सुरक्षा तालिम निकै महत्वपूर्ण भएको अर्थ्याए।।

पत्रकार महासंघ कास्कीले तालिमको आयोजना गरेर आफ्नो संस्थालाई पनि जोडेको पाण्डेले बताए।

गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई. सन्तोष पन्थले साइबर सुरक्षासम्बन्धी सहजिकरण गर्दै स-साना आफैले अपनाउन सकिने साबधानी नअपनाउदाँ धेरै व्यक्ति साइबर अपराधको सिकार हुनु परेको बताए।

डिजिटल सिकारबाट बच्न पहिला आफै सजग हुनपर्ने उनको भनाई थियो।

उनले इन्टरनेटका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनधिकृत पहुँच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी गराए।