
यहि फागुन २१ गते हुने निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न संचारमाध्यम र पत्रकारसमक्ष प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ।
निर्वाचनको समयमा पूर्ण रुपमा निष्पक्ष र उत्तरदायी बनेका छन् कि छैनन् भनि देशभित्र रहेका आमसंचारमाध्यममाथि नियमित अनुगमन गरिरहेको काउन्सिलले जनाएको छ।
विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन गरिरहेको काउन्सिलले उल्लेख गरेको छ।
काउन्सिलका सह-प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रकाशित विज्ञप्तिमा काउन्सिलले पछिल्लो समय केही संचारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ।
यो उम्मेदवारले जित्नेछन्, ‘यो उम्मेदवार त्यो भन्दा धेरै अगाडि’ ‘नयाँतिर आकर्षित’ ‘यसको लहर छ, यसको छैन’ ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आममतदाता दिग्भ्रमित हुने समाचार सामग्री प्रकाशित भएकोमा काउन्सिलले ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको स्पष्ट पारेको छ।
प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ–हानी पुग्नसक्नेतर्फ काउन्सिलले सचेतसमेत गराएको छ।
काउन्सिलले निर्वाचन जस्तो महत्वपूर्ण सन्दर्भमा तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेशामा आबद्ध संचारमाध्यम र पत्रकार थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनुपर्ने काउन्सिलका सह–प्रवक्ता रामशरण बोहराले जनाएका छन्।
निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकाय जस्तै संचार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न काउन्सिलले आग्रह गरेको छ।
आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य, मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न/नगराउन समेत काउन्सिलले ध्यानाकर्षण गराएको छ।
