
पोखरामा दुई दिने खेलकुद पत्रकारिता तालिम सकिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि खेलकुद पत्रकारिता तालिमको आयोजना गरिएको हो।
पोखराको पत्रकारिता क्षेत्रमा कृयाशील पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ एवं नियमबारे प्रशिक्षण दिइएको थियो।
विशेषगरी, खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो।
तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी, गल्फ विधामा जिवाराम गुरुङ, मार्शलआर्ट विधाका प्रशिक्षक सुवास खड्का र फुटबल विधामा प्रशिक्षक हिमेशरत्न बज्राचार्यले प्रशिक्षण दिएका थिए।
तालिमको समापनका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमले विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरूको क्षमता वृद्धिसँगै लेखन शैलीमा निखार ल्याउने दाबी गरे।
तालिममा ६५ जना पत्रकारको सहभागिता थियो।
क्रिकेट खेलका प्रमुख प्रशिक्षक दुर्गानाथ सुवेदीले खेलाडीहरूको उत्साहसँगै उनीहरूको लगनशीलता र मेहनतलाई देखाउने माध्यम नै खेल पत्रकार रहेको उल्लेख गरे।
उनको कथन थियो, ‘खेलका नियम र सिस्टमलाई राम्रोसँग बुझेर प्रसारण गर्नका लागि यस तालिमले महत्वपूर्ण भूमिका खेल्नेछ। गण्डकी प्रदेशमा रहेर खेल्ने खेलाडी, खेल प्रशिक्षक, खेलकुदका संघसंस्था र सरोकारवालाहरूका लागि यस्ता तालिमले खेलकुदको विकाससँगै खेल पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनेछ।’
तालिममा सहभागी पत्रकार कमल पौडेल (अथक) ले प्रत्यक्ष खेल भइरहेकै ठाउँमा समेत पुगेर तालिम लिने अवसर पाएकोमा खुसी व्यक्त गरे।
‘तालिमले खेलकुद समाचार लेखन शैलीमा निखार ल्याउनेछ। खेलकुदका समाचार बनाउँदा हुने समस्यामा कमी आउनेछ’, अथकको टिप्पणी थियो।
मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्था) ले दुई दिनसम्म संचालन भएको तालिमबाट केही न केही नयाँ ज्ञान प्राप्त भएको औंल्याए।
उनले चर्चा गरे, ‘तालिमले आगामी दिनमा खेलकुदसम्बन्धी समाचार उत्पादन तथा प्रसारणमा सहजता ल्याउनेछ।’
आस्थाले तालिमका प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।
प्रशिक्षार्थीहरुलाई खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, उपाध्यक्ष राजाराम पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, मञ्चका सल्लाहकार सुरज श्रेष्ठ, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, प्रशिक्षकहरु दुर्गानाथ सुवेदी, हिमेशरत्न बज्राचार्य, सुबास खड्कालगायतले प्रमाणपत्र प्रदान गरे।
यसअघि, गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारीले एक कार्यक्रमबीच शनिबार तालिमको उद्घाटन गरेकी थिइन्।