‘महिला पत्रकारका लागि सुरक्षित इको सिष्टम र समावेशी नेतृत्व’

‘महिला पत्रकारको संख्या बढ्दै गएको भएपनि नेतृत्व तहमा उनीहरूको उपस्थिति अझै पर्याप्त छैन’

जनसम्मत
फागुन २६, २०८२, मंगलवार

प्रेस काउन्सिल नेपालले पनि ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।

दिवसको अवसरमा ‘पत्रकार महिलाका लागि सुरक्षित इको सिस्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रियात्मक कार्यक्रमसमेत गरेको छ।

कार्यक्रममा महिला पत्रकारहरूको पेशागत सुरक्षा, समान अवसर, नेतृत्वमा पहुँच र लैङ्गिकमैत्री संचार वातावरण निर्माणका विषयमा सरोकारवालाबीच विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा शारीरिक र मानसिक मात्र नभई डिजिटल रूपमा पनि सुनिश्चित गरिनुपर्नेमा जोड दिए।

उनीहरूले समाचार कक्षमा समावेशी र सुरक्षित वातावरण, समान अवसर, उचित पारिश्रमिक तथा पेशागत सम्मानको अभावले महिला पत्रकारहरूलाई दीर्घकालीन रूपमा पेशामा टिकिरहन कठिन बनाएको धारणा व्यक्त गरे।

विशेषगरी डिजिटल प्लेटफर्ममा हुने दुव्र्यवहार, अनलाइन ट्रोलिङ, लैङ्गिक पूर्वाग्रह तथा असमान व्यवहारलाई महिला पत्रकारहरूले दैनिक रूपमा सामना गर्नुपरेको सहभागी पत्रकारहरूले उल्लेख गरे।

नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउन स्पष्ट नीतिगत व्यवस्था, क्षमता अभिवृद्धिका तालिम, डिजिटल सीप विकास, पदोन्नतिमा समान अवसर र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरु को सुझाव थियो।

समान अवसर, समावेशी नेतृत्व र सुरक्षित कार्य वातावरण सुनिश्चित भएमा मात्र पत्रकारिता क्षेत्र थप सशक्त बन्ने र लोकतान्त्रिक मूल्यहरू अझ मजबुत हुने महिला पत्रकारहरूको धारणा थियो।

काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले कार्यक्रममा बोल्दै उठेका सुझावहरूप्रति काउन्सिल प्रतिबद्ध रहने प्रतिबद्धता जनाए।

उनले औंल्याए, ‘महिला पत्रकारसँग सम्बन्धित मुद्दाहरूलाई समयसापेक्षरूपमा तथा काउन्सिलको अधिकारक्षेत्रभित्र रहेर सम्बोधन गरिनेछ। काउन्सिलले केवल नियमनकारी भूमिकामा सीमित नभई संचारमाध्यम तथा पत्रकारहरूको सीप र क्षमता अभिवृद्धिमा पनि प्राथमिकता दिनेछ।’

काउन्सिलका सदस्य सचिव तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले महिला पत्रकारहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै पेशागत विकासमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए।

उनले उल्लेख गरे, ‘पत्रकारितामा नयाँ पुस्ताका महिलाहरूलाई आकर्षित गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्नेछ। महिला पत्रकारहरूले समाजलाई सचेत र सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।’

काउन्सिल बोर्ड सदस्य एवं कार्यक्रम संयोजक कुमारी निमा काफ्लेले विषयवस्तुमाथि प्रकाश पार्दै महिलाहरूले आफ्नो अधिकार र उपलब्धिका लागि सक्रिय भएर अघि बढ्नुपर्ने औंल्याइन्।

उनले भनिन्, ‘अन्तर्राष्ट्रिय महिला दिवसलाई केवल उत्सव होइन, महिलाको योगदान, संघर्ष र उपलब्धि सम्झने र आगामी दिनका लागि मार्गनिर्देशन गर्ने अवसरका रूपमा लिनुपर्छ।’

उनले महिला पत्रकारहरुले परम्परागत मिडियाको सीमित दायराबाट बाहिर निस्केर अर्थपूर्ण नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिइन्।

‘समावेशी र लैङ्गिकमैत्री संचार वातावरण निर्माणका लागि नीति, अभ्यास र सोँचमा परिवर्तन आवश्यक छ’, उको भनाई थियो।

कार्यक्रमकी मुख्य विषयवक्ता वरिष्ठ पत्रकार बबिता बस्नेतले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन र संचारमाध्यममा महिलासम्बन्धी सामग्रीको निगरानी गर्न काउन्सिलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्।

बस्नेतले उल्लेख गरिन्, ‘अझैपनि धेरै महिला पत्रकारहरूले समाचार कक्षमा विभिन्न चुनौती र दबाब सामना गर्नुपरेको छ। समाचार कक्षमा समावेशी नेतृत्व आवश्यक छ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य निर्मला शर्माले महिला पत्रकारको संख्या बढ्दै गएको भएपनि नेतृत्व तहमा उनीहरूको उपस्थिति अझै पर्याप्त हुन नसकेको औंल्याइन्।

‘पत्रकारितासम्बन्धी नीति र आचारसंहितालाई लैङ्गिक दृष्टिकोणबाट पुनरावलोकन गर्नुपर्छ’, शर्माले जोड दिइन्।

काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले विधागत पत्रकारिताको क्षमता अभिवृद्धि गर्ने विषयलाई काउन्सिलले प्राथमिकतामा राख्ने बताए।

उनले संचार सामग्रीको नियमनका सन्दर्भमा काउन्सिलले विद्यमान नियमअनुसार आमसंचार माध्यम तथा पत्रकारको नियमन प्रक्रियागतरूपमा गरिरहेको जानकारी दिए।

त्यसैगरी काउन्सिलका बोर्ड सदस्य नकुल अर्यालले सरोकारवालाबाट आएका सुझावहरूलाई काउन्सिलले ग्रहण गर्ने बताए।

उनले जोड दिए, ‘महिला प्रतिनिधित्वको लडाइँ सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा संचार क्षेत्रमा पनि प्रभावशाली नेतृत्वमा महिलाहरूको सहभागिता बढ्नुपर्छ।’

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने जोड दिइन्।

नीति निर्माणको तहबाटै पत्रकार महिलाको सहजीकरण गरिनुपर्छ। सरकारको नीति कार्यक्रममै महिलामैत्री हुनु आवश्यक छ’, खड्काको कथन थियो।

कार्यक्रममा महासंघकी उपाध्यक्ष नितु पाण्डितले आमसंचार नीतिमा सहभागिताको विषय स्पष्ट रूपमा उल्लेख नभएको बताइन्।

‘महिला पत्रकारहरूको सुरक्षा केवल भौतिक सुरक्षासम्म सीमित नभई पेशागत, कानुनी तथा दण्डहीनतासम्बन्धी विषयसँग पनि जोडिएको छ।

नियमित तथा न्यूनतम पारिश्रमिक सुनिश्चित नभएसम्म महिला पत्रकारिता सशक्त हुन सक्दैन। समाचार कक्षको सम्पादकीय नेतृत्वमा महिलाको उपस्थिति अझै कमजोर छ’, पण्डितले आफ्नो धारणा राखिन्।।

कार्यक्रममा काउन्सिलको आचारसंहिता अनुगमन तथा उजुरी महाशाखा प्रमुख रामशरण बोहराले महिला पत्रकारहरूको पेशागत सुरक्षा अहिलेको प्रमुख चुनौती भएको औंल्याए।

उनले भने, ‘आक्रमण, धम्की, रोजगार असुरक्षा, पारिश्रमिक असमानता तथा लैङ्गिक विभेदजस्ता समस्याहरू सामना गर्नुपरेको अवस्था अझै कायम छ।’

बोहराले महिला पत्रकारसँग सम्बन्धित चरित्रहत्या, व्यक्तिगत गोपनीयता उल्लंघन तथा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमणका बारेमा काउन्सिलमा अभिलेख भएका घटनाहरू जानकारी गराए।

यस्तै, कार्यक्रम संचालक तथा काउन्सिलका उपप्रशासकीय अधिकृत सविता ढकालले महिला पत्रकारहरूले परम्परागत मिडियाको सीमित दायराबाट बाहिर निस्केर अर्थपूर्ण नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा ३० भन्दा बढी सकृय महिला पत्रकारहरूको सहभागिता थियो।