संहिता जर्नलका लेखकहरूसँग काउन्सिलको छलफल

‘पत्रकारिता पेसालाई सम्मानीत र मर्यादित बनाउन संहिताले भूमिका खेल्न सक्छ’

जनसम्मत
चैत्र १, २०८२, आइतबार

प्रेस काउन्सिल नेपालको नियमित प्रकाशन संहिता त्रैमासिक जर्नलका लेखकहरुसँग आइतबार छलफल गरिएको छ।

जर्नलमा समावेश हुनुपर्ने विषयवस्तु, नेपाली पत्रकारिताको अवस्था, समाधानमा लेखक/पत्रकारको भूमिका र काउन्सिलको प्रकाशनलाई प्रभावकारी बनाउने सम्बन्धमा लेखकहरूले धारणा र सुझाव व्यक्त गरेका थिए।

काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले कार्यक्रममा संहिता जर्नलका माध्यमबाट नेपालको पत्रकारिताको विश्वसनीयता बढाउने गरी भूमिका खेल्न सकिने औंल्याए।

‘संहिता जर्नलका माध्यमबाट पत्रकार आचारसंहिताको प्रभावकारिता थप बढाउन सकिन्छ। समस्यामात्र पहिल्याउने भन्दापनि समाधानका विषयसमेत समेटिनेगरी उल्लेख गर्नुहोस्’, आचार्यको अनुरोध थियो।

काउन्सिलका सदस्य शन्तराम बिडारीले कतिपय विषयमा लेख लेख्दा लेखकहरूमाथि आक्षेप लाग्ने तथा व्यक्तिगत रूपमा आलोचना सहनुपरेको उल्लेख गरे।

संहिता पुस अंकका प्रबन्ध सम्पादकसमेत रहेका काउन्सिल सदस्य नकुल अर्यालले संहिताको गरिमा कायम रहनेगरी लेखकहरूबाट अनुसन्धानमूलक लेखहरूको संग्रह गर्न काउन्सिल प्रतिबद्ध रहेको जनाए।

उनले पत्रकारिताका विविध आयामको इतिहास, वर्तमान भविष्यसमेतका अध्ययनको दस्तावेज संहिता जर्नल रहेको बताए।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले कतिपय श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताका विषयमा कार्य गर्दा काउन्सिलमाथि नै नकारात्मक प्रहार हुनेगरेको सुनाए।

कार्यक्रममा लेखकहरू यम विरही, बिमला तुम्खेवा, सीता न्यौपाने (सारा), राधेश्याम तिमल्सिना (पुकार), लक्की चौधरी, रुद्र खड्का, लक्ष्मीधर गुरागाईं, शर्मिला पण्डित, सुनिल पौडलले संहिता जर्नललाई समयसापेक्ष बनाउन सुझाव दिए।

लेखकहरूले आफ्ना अनुभवहरू राख्दै पत्रकारिता पेसालाई सम्मानीत र मर्यादित बनाउन संहिताका माध्यमबाट भूमिका खेल्न सकिनेबारे धारणा राखे।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रममा सहजीकरण गरेका थिए।

संहिता २०८२ पुस अंकका संयोजकसमेत रहेकी काउन्सिल सदस्य कुमारी निमा काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो।