विदेशी खेलाडीहरुले जिते प्याराग्लाइडिङ च्याम्पियनसीपको उपाधि

पुरुषतर्फ भारतीय अक्षयकुमार र चिनिया झाउ तथा महिलातर्फ चिनिया कोङलाई उपाधि

जनसम्मत
चैत्र ७, २०८२, शनिबार

विदेशी खेलाडीहरुले २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि जितेका छन्।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसीप–२०२६ मा भारतका अक्षयकुमार र चिनिया झाउ चेनले प्याराग्लाइडिङ प्रतियोगिताको उपाधि जितेका हुन्।

पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दा समान ७ अंकसहित अक्षयकुमार झाउ चेन दुबैले प्रथम स्थान हासिल गर्न सफल भए।

पाँच राउण्डसम्मको प्रतिस्पर्धामा उनीले ७ अंकसहित प्रथम भएका हुन्।

नेपालकी दुर्गामाया गुरुङ १२६ अंकसहित दोस्रो हँुदा भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो बनिन्।

त्यसैगरी, नेपालकी इस्का राई ३५४ अंकसहित चौथो स्थानमा रहँदा कृषु पौडेल ५२६ अंकसहित पाँचौँ स्थानमा रहिन्।

महिलातर्फ १० जना खेलाडीबीच प्रतिस्पर्धा भएको प्राबिधिक बिमल अधिकारीले जनाए।

त्यसैगरी नेपालीतर्फको विधामा पुरुषतर्फ पवन परियार र अरुण जलारी समान ११/११ अंकका साथ पहिलो र रिखि पोडे १२ अंकका साथ दोस्रो भए।

महिलातर्फ १२६ अंकसहित दुर्गामाया गुरुङ पहिलो बनिन्।

ईशा राई ३५४ अंकसहित दोस्रो र कृषु पौडेल ५२६ अंकसहित तेस्रो भए।

गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट पवल परियार, अरुण जलारी र रिखि पौडेल छनौट भए।

महिलातर्फ गण्डकीको टिमका लागि दुर्गामाया गुरुङ र कृषु पौडेल छनौट भएका छन्।

छनौट भएका खेलाडीलाई जनही नगद १०/१० हजारका साथमा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

दशौं राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट समेत भएको ना का प्रथम उपाध्यक्ष खेमराज आचार्यले जनाए।

प्रतियोगिताअन्तर्गत तेश्रो दिन शनिबार प्रतिकूल मौसम पानी परेका कारण खेलहरु स्थगित गरिएको थियो।

यसअघि, दुई दिन भएको खेलको आधारमा नतिजा सार्वजनिक गरिएको हो।

एक्यूरेसी टिम इभेन्टतर्फ भारतीय मिक्स टीम (वर्कला) बिजयी भएको छ।

११ टोली सहभागी रहेको प्रतिस्पर्धामा ३८ अंकसहित राहुल राई, अक्षयकुमार, मोहनसिंह, मनिस उप्रेतीको समुह प्रथम भएको हो।

इन्डो–नेपाल संयुक्त टोली ६७ अंकसहित दोस्रो हुन सफल भयो।

टिम नेपाल १०९ अंकसहित तेस्रो भयो।

सोनाम लद्दाखी, अरुण जलारी, कृष्णबहादुर क्षत्री र गोपाल ठाकुर दोश्रो हँुदा विष्णु तिमिल्सिना, सुमनजंग थापा, रोशन बस्नेत र युवराज सुनुवार सम्मिलित टिम तेश्रो बन्यो।

प्रतियोगितामा नेपाललगायत भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी थिए।

जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० खेलाडीको सहिभािगता थियो।

प्रतियोगिताअन्तर्गत पुरुष व्यक्तिगततर्फका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार जिते।

समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार जिते।

बिजयी खेलाडीहरुलाई नेपाल नागरिक उडययन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण बर्षका संयोजक गोपीबहादुर भट्टराईलगायतले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

आगामी बर्ष क्रसकन्टीतर्फको विधासहित प्रि—वर्ल्ड कपसमेत आयोजना गर्ने ना का अध्यक्ष अनिल केसीले जानकारी दिए।