मिडिया एड्भोकेसी ग्रुप (म्याग) को पत्रकारिता तालिम सकियो

तालिममा २० जना पत्रकारको सहभागिता थियो

जनसम्मत
चैत्र ९, २०८२, सोमबार

पोखराका कृयाशील पत्रकारका लागि मिडिया एड्भोकेसी ग्रुपद्वारा दिएको पत्रकारिता तालिम सकिएको छ।

आइतबारदेखि सुरु दुई दिने तालिममा पत्रकारलाई पत्रकारितासम्बन्धी तालिम दिइएको हो।

पोखराको विभिन्न संचार संस्थाका कार्यरत पत्रकारहरुका लागि तालिमको आयोजना गरिएको हो।

तालिममा विभिन्न मिडियाबाट २० जना पत्रकारको सहभागिता थियो।

म्यागका उमेश पोखरेल र दि हिमालयन टाइम्सका सम्पादक राजन पोखरेलले तालिममा सहजीकरण गरेका थिए।

म्यागका प्रशिक्षक उमेश पोखरेलले लिङ्ग र लैंङ्गिकता, मिडियामा लैंङ्गिक समावेशीकरण, पीडितकेन्द्रीत रिपोर्टिङबारे प्रशिक्षण दिए।

प्रशिक्षक राजन पोखरेलले समाचार कक्षमा महिला समावेशीकरण, गलत तथा मिथ्या सूचनाबाट बच्ने तरिका र तथ्यजाँचबारे प्रशिक्षण दिए।

सूचना प्रविधिको बढ्दो पहुँचसँगै सामाजिक सञ्जालमा समेत विभिन्न प्रकारका भ्रामक सूचनाको बाढी आउने गरेकामा त्यसबाट जोगिन यसप्रकारका तालिमले लाभ मिल्ने सहभागीको धारणा थियो।

पत्रकार तथा संचारकर्मीहरु आफै स्वयं भ्रामक र मिथ्या सूचनाबाट जोगिन सतर्क रहनुपर्ने तालिममा औंल्याइएको थियो।

सामाजिक सञ्जालबाट आउने भ्रामक र तथ्यहिन मिथ्या सूचनाबाट पत्रकारहरु उत्तेजित र आतंकित नभई स्वनियन्त्रित र संयमित बन्नुपर्ने कुरामा जोड दिइएको थियो।

भ्रामक र मिथ्या सूचनाबाट बच्न पत्रकार तथा संचारकर्मीहरु स्वयंले मिडिया लिटरेसीमा ध्यान पुर्‍याउनुपर्ने र पाठक, स्रोतालाई त्यसपछि मिडिया लिटरेसी गराउनुपर्ने संचारकर्मी तथा पत्रकारहरुको जिम्मेवारी रहेको तालिममा बताइएको थियो।

मिडियामा पुरुषलाई जति स्रोतको रुपमा प्रयोग गरिन्छ, महिलालाई कम प्रयोग गरिनेमा आगामी दिनमा विशेष ध्यान दिने सहभागीहरुले प्रतिबद्धता जनाए।