
पोखरामा चैत ११ (बुधबार) देखि दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुति तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) को आयोजनामा चैत्र ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित तालबाराहीचोक नजिकको खेल मैदानमा अटो शो संचालन हुनेसोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो।
प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीका रूपमा लिइएको यस कार्यक्रममा विभिन्न ३२ ब्रान्डका आधुनिक सवारी साधनहरूको प्रदर्शन तथा बिक्री–वितरण गरिने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए।
प्रदर्शनीमा १६ ब्राण्डका चारपांग्रे, १० ब्राण्डका दुईपांग्रे, ६ ब्राण्डका लाइट कमर्सियल र हेभी कमर्सियल सवारी साधनहरूका साथै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अटो एसेसरिज तथा वित्तीय संस्थाहरूका गरी २० वटा स्टल रहने कोइरालाले बताए।
यस संस्करणको अटो शोमा अत्याधुनिक प्रविधिसहितका रोबोटहरू समेत प्रदर्शन गरिने भएको छ।
युनिट्री जी वान ह्युमानोइड रोबोट, युनिट्री गो टु र अन्य आकर्षक रोबोटहरू प्रदर्शनीका विशेष आकर्षण रहने महासचिव विनय थापाले बताएका छन्।
प्रदर्शनीमा एम्पेरे, एथर, अक्वेल, बीवाइडी, चेरी, वान्डा, चेतक, डोङफेङ, ग्यारो, हुन्डाई, काइई, कामा, किआ, लिप मोटर, म्याक्सस, एमजी, गोनोउ, ओमोडा, जाइकू, प्रोटोन, रोयल इन्फिल्ड, स्काईवर्थ, एसएमएल–इसुजु, टाटा, टीभीएस, एक्स्प्रेस–टी, यामाहा र जोन्टेज लगायत प्रसिद्ध ब्राण्डका सवारी साधनहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा बताइएको छ।
यसबाट सर्वसाधारणलाई नवप्रवर्तन र प्रविधिको प्रत्यक्ष अनुभव दिलाउने लक्ष्य राखिएको थापाले जनाए।
पाँच दिनसम्म संचालन हुने प्रदर्शनीमा करिब ४५ हजार आगन्तुक सहभागी हुने आयोजकको अनुमान छ।
टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ भने खल्ती एपमार्फत टिकट खरिद गर्दा दैनिक पहिलो १०० साधारण टिकटमा ५० प्रतिशत र पहिलो १०० विद्यार्थी टिकटमा १०० प्रतिशत क्यासब्याकको सुविधा प्रदान गरिने वाडाका कोषाध्यक्ष असोक चालिसेले बताए।
पोखरा महानगरपालिका प्रवर्द्धक रहेको यस कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ।
विभिन्न प्रतिष्ठित संस्थाहरूले प्रायोजन तथा साझेदारी गरेका छन्।
यस प्रदर्शनीले अटो व्यवसाय प्रवर्द्धन, क्षेत्रीय बजार विस्तार, आधुनिक प्रविधिबारे जानकारी आदानप्रदान तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने वाडाका बरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठको दाबी छ।
अटो क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने साझा प्लेटफर्मका रूपमा समेत यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको वाडाका उपाध्यक्ष निरन केसीले बताए।
उक्त कार्यक्रममा विभिन्न व्यवसायिक कम्पनीहरुले छुट प्याकेज ल्याएको आयोजकले जनाएको छ।