गण्डकी प्रदेश लोक सेवा आयोगले आफ्नो पाँचौ वार्षिकोत्सव मनायो

प्रदेश प्रमुख भट्ट भन्छन्, ‘सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ’

जनसम्मत
चैत्र ११, २०८२, बुधबार

प्रदेश लोक सेवा आयोग गण्डकीले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ।

समारोहका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वार्षिकोत्सव समारोहको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताए।

कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म नागरिकहरु खुशी हुन सक्दैनन्। यो वास्तविकतालाई बिर्सन नहुने वास्तविकतालाई विर्सन नहुने कुरामा उनले जोड दिए।

प्रदेश प्रमुख भट्टले भने, ‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन। वर्तमान समयमा सरकारी सेवाप्रति युवाहरुको बढ्दो आकर्षण, सूचना प्रविधिको तीब्र विकास तथा बढ्दो प्रतिस्पर्धाजस्ता विषयलाई सम्बोधन गर्दै आयोगले आफूलाई थप सबल तथा अद्यावधिक गर्नु आजको टड्कारो आवश्यकता हो।’

चुस्त व्यवस्थापकीय क्षमतायुक्त‚ इमान्दार‚ कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनौट प्रणालीमा समय सापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने पनि उनले अपेक्षा गरे।

आगामी दिनमा आफूप्रतिको विश्वसनीयतालाई कायम राख्दै प्रदेश सरकार र नागरिक तह दुवैसँग सुमधुर सम्बन्ध र समन्वय कायम गरी आफ्नो निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा आयोग लागिपर्ने विश्वास उनले व्यक्त गरे।

सभामुख कृष्णप्रसाद धितालले स्थायी सरकारको रुपमा रहेको कर्मचारी तन्त्रलाई व्यवस्थापन गर्ने निकाय रहेकाले यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

कर्मचारीको संंख्या मात्र नभई गुणस्तरीय कामको पनि आवस्यकता पर्ने उनले औंल्याए।

प्रदेश सभामा विपक्षी दलका नेता हरिबहादुर चुमानले संघीय सरकारका कारण ऐनमा व्यवस्था भएको कुरा पनि कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे।

लोकसेवा आयोगका पाठ्यक्रम पुरानै आत्मा र केन्द्रीकृत भावना समेटेको उल्लेख गर्दै उनले यसको परिमार्जन गर्नुपर्नेमा जोड दिए।

प्रमुख सचिव डण्ढुराज घिमिरेले आयोग एउटा स्वायत्त निकायको रुपमा रहेको औंल्याए।

निवृत्तीभरण कोष स्थापनाका लागि चालु हिउँदे अधिवेशनमा विधेयक प्रदेशसभामा लैजाने गरी काम भइरहेको उनले जनाए।

कार्यक्रममा आयोगका सदस्य योगेन्द्र गौचनले स्वागत मन्तव्य राखेका थिए।

गण्डकी प्रदेश लोक सेवा आयोगले छैठौं वर्षमा प्रवेश गरेको अवसरमा विगत ५ वर्षको उपलब्धि, चुनौती र भावी योजनाबारेसार्वजनिक गरेको छ।

२०७७ चैत ११ मा स्थापना भएको आयोगले छोटो अवधिमै प्रदेश तथा स्थानीय तहमा जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ।

आयोगले बुधवार आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा हालसम्म प्रदेश र स्थानीय तहका लागि ४ हजार १७ जना जनशक्ति सिफारिस गरेको जनाएको छ।

तेस्रो तहदेखि ११ औँ तहसम्मको पदपूर्ति गरिएको र सिफारिस भएकामध्ये ४ सय ८२ जना बढुवामार्फत् र ३ हजार ५ सय ३५ जना खुला तथा समावेशी समूहबाट छन्।

सिफारिश हुनेमा प्रदेशतर्फ ७६२ र स्थानीय तहतर्फ २ हजार ७७३ जना छन्।

बढुवातर्फ प्रदेशका १४९ र स्थानीय तहतर्फ ३३३ जना छन्।

आयोगका अनुसार हालसम्म कुल ५ हजार ४४९ पदका लागि विज्ञापन प्रकाशित गरिएको छ।

तीमध्ये खुलातर्फ २ हजार ५८८, बढुवातर्फ ९२७, महिला ६८६, आदिवासी जनजाति ४८४, दलित २२६, विपन्न खस आर्य १३७, अपाङ्ग ६७, थारु ३९, मुस्लिम ३१ र मधेसी ९९ पद समावेश छन्।

त्यसैगरी, आयोगमा कुल ४ लाख ७३ हजार ३४३ दरखास्त परेको तथ्यांक सार्वजनिक गरिएको छ।

यसमध्ये पुरुष २ लाख ६९ हजार ९६० र महिला २ लाख ३ हजार ३६३ छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म मात्रै ७२ हजार ४०९ नयाँ दरखास्त परेको छ।

तहगत रूपमा हेर्दा सबैभन्दा बढी दरखास्त चौथो तह (२,५२,३३१) र पाँचौँ तह (१,६९,४७०) मा परेको देखिन्छ।

यसले तल्लो तहका सरकारी सेवामा उच्च प्रतिस्पर्धा रहेको देखाउँछ।

बुधवार आयोजित पाँचौ वार्षिकोत्सव समारोहमा आयोग सदस्य कल्पना लम्सालले यो विवरण प्रस्तुत गरेकी हुन्।

आयोगले परीक्षा प्रणालीलाई समयानुकूल बनाउन १५५ वटा पाठ्यक्रम निर्माण तथा परिमार्जनसमेत गरेको छ।