पोखरा–९ मा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम

मन्त्री थापा भन्छन्, ‘मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार बन्छ’

जनसम्मत
चैत्र ५, २०८२, बिहीवार

पोखरा–९ मा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम गरिएको छ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत एकीकृत सेवा कार्यालय कास्कीको सहयोगमा पोखरा–९ स्थित वडास्तरीय दलित सञ्जालले कार्यक्रमको आयोजना गरेको हो।

समाजमा बढ्दो मानसिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सामान्य तनावका कारण हुन सक्ने दुर्घटनालाई रोक्ने लक्ष्यसहित कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याए।

उनले भने, ‘विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता छ। यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पुर्‍याउनेछ।’

मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा समेत सक्रिय रहेको उल्लेख गरे।

पिछडिएका वर्गको आवाज बुलन्द पार्न लक्षित कार्यक्रमहरू प्रदेश सरकारबाट संचालन भइरहेको उनको भनाई थियो।

‘प्रदेशमा दलित विधेयक पारित गरी दलित समुदायको हकअधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको छ। दलित अधिकार संरक्षणमा प्रदेश सरकार गंभीर बनेको छ’, मन्त्री थापाको भनाई थियो।

कार्यक्रममा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले समाजबाट विभेद अन्त्य हुनुपर्नेमा जोड दिए।

केवल भाषण होइन, व्यवहारिक काममार्फत परिवर्तन आवश्यक रहेको कुरामा उनले जोड दिए।

‘मानसिक स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमहरूले समाजलाई सबल र सुदृढ बनाउनेछ’, वडाध्यक्ष थापाको धारणा थियो।

त्यसैगरी प्रशिक्षक समझना पराजुलीले मानसिक स्वास्थ्य आजको अपरिहार्य आवश्यकता भएको औंल्याइन्।

सामान्य तनाव व्यवस्थापन गर्न सकिएमा धेरै समस्या समाधान हुन सक्ने उनले औंल्याइन्।

सपना विकको अध्यक्षतामा कार्यक्रम भएको हो।