पत्रकारको जिम्मेवारी खबरदारी गर्नु हो: मुख्यमन्त्री पाण्डे

पत्रकार महासंघ कास्कीले मनायो महासंघको ७१ औं स्थापना दिवस

जनसम्मत
चैत्र १६, २०८२, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारलाई खबरदारी गर्ने जिम्मा पत्रकार जगतसँग रहेको बताएका छन्।

पत्रकारहरुले आफ्नो जिम्मा निर्वाह गर्ने कुरामा आफूले विस्वास गरेको मुख्यमन्त्रीले औंल्याए।

पत्रकार महासंघको ७१ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो अभिमत राखेका हुन्।

सत्तापक्ष कमजोर भएका बेला पत्रकार जगत र पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो।

पत्रकारहरु आवाजविहीनहरु र नसुनिनेहरु आवाजहरुलाई वकालत गर्ने संस्था रहेको उनले बताए।

‘आगामी दिनमा पत्रकारिता जगतको ठूलो जिम्मेवारी रहन्छ। त्यसलाई, पत्रकार जगतले आत्मसाथ गरेर अधिनायकवादको बाटो रोज्न खोज्यो भने पत्रकार जगतले खबरदारी गर्ने जिम्मावारी पनि पत्रकारिता जगतको हो।’

सरकार–सत्तापक्ष कमजोर भएको अवस्थामा पत्रकारिता जगत कमजोर भयो भने सत्ता निरंकुश बन्न सक्ने उनले दाबी गरे।

न्यायपालिकाले पनि संयमता गुमाउन नहुने उनले प्रष्ट पारे।

‘आगामी दिनमा पत्रकारिता र न्यायपालिकाको भूमिका सबैभन्दा कठिन देखिन्छ। यसतर्फ दुबै क्षेत्र सचेत बन्नुपर्छ’, उनको आग्रह थियो।

सरकारले कहिल्यैपनि बदलाको भावनाले हिँड्न नमिल्ने उनले जनाए।

उनले भने, ‘सरकार जतिसुकै बलियो भएपनि सरकार कहिल्यैपनि बदलाको भावनाले हिँड्न मिल्दैन। सरकार आफै बदलावको भावनामा हिँड्यो भने त्यहाँ न्याय र स्वतन्त्रता मर्न सक्छ। सरकार, कजोर हुँदा होस, या कमजोर हुँदा होस, आफ्नो संयंमता गुमाउन हुँदैन, बदलाको भावनाले हिँड्न हुँदैन।’

संविधान र कानूनहरु बाधक छन भने परिवर्तन र संशोधन गर्न सकिने उनको अभिमत छ।

संविधान र कानून बाधक छ भन्दैमा कसैले पनि कानूनलाई हात लिन नमिल्ने उनले बताए।