पत्रकारमाथिको दुर्व्यवहारप्रति प्रेस काउन्सिलको चिन्ता

प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दताप्रति सचेत र सजग रहन पनि पत्रकार/संचारकर्मीसामु आग्रह गरेको छ

जनसम्मत
चैत्र १५, २०८२, आइतबार

समाचार संकलनको क्रममा पत्रकार/संचारकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारप्रति प्रेस काउन्सिल नेपालले चिन्ता व्यक्त गरेको छ।

नागरिकको सूचना हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भन्दै काउन्सिलले प्रेसको मर्यादा कायम राख्न अनुरोधसमेत गरेको छ।

काउन्सिलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता र सम्मान हुनुपर्नेमा जोड दिएको छ।

काउन्सिलका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘संविधान एवं कानून प्रदत्त स्वतन्त्र र निर्वाध ढंगले संचारकर्म गर्न पाउने हक हनन हुनेगरी समाचार संकलनका लागि पत्रकार/संचारकर्मीमाथि हातपात, गालीगलौज र दुर्व्यवहार हुनु गलत र प्रेस स्वतन्त्रताविपरित कार्य हो। प्रेस स्वतन्त्रता र सम्मान हुनुपर्दछ। काउन्सिल प्रेस स्वतन्त्रता र मर्यादा कायम राख्न प्रतिबद्ध छ।’

पत्रकार/संचारकर्मी/संचारमाध्यममाथि कुनै बाधा अवरोध नगर्न/नगराउन साथै प्रेस स्वतन्त्रताको निर्वाध उपयोग गर्ने वातावरण गर्न/गराउन काउन्सिलले सम्बन्धित पक्षलाई अनुरोधसमेत गरेको छ।

काउन्सिलले प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दताप्रति सचेत र सजग रहन पनि पत्रकार/संचारकर्मीसामु आग्रह गरेको छ।

हालैका दिनमा कतिपय पत्रकार/संचारकर्मी पेशागत आचरण र मर्यादाअनुकूल प्रस्तुत नभएकाप्रति काउन्सिलको गुनासो छ।

‘संचारकर्मको क्रममा पत्रकार/संचारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार, मर्यादा एवं आचारणप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ। पत्रकारले आफ्नो मर्यादा ब्यवहारबाटै आर्जन गर्नुपर्दछ। प्रेस स्वतन्त्रताको प्रयोग गर्दा विभिन्न व्यक्ति वा संस्थाप्रति मर्यादित व्यवहार अपेक्षित छ’, विज्ञप्तिमा भनिएको छ।

प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ प्रेस काउन्सिल सचेत र क्रियाशील रहँदै आएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताको संरक्षण, सम्वर्द्र्धनमा सदैव प्रतिबद्ध हुनुको साथै प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ सचेत र क्रियाशील रहँदै आएको छ।

सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यवसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ सजगता गराउन काउन्सिल आग्रह गर्दछ।’

हेरौं, विज्ञप्ति