
पोखरामा आयोजना हुने २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ को तयारी तिब्र पारिदैंछ।
यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म हुने महोत्सवको तयारीलाई तिब्र पारिएको
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए।
विहीबार आयोजित पत्रकार सम्मेलनमा सुवेदीले सो कुरा बताएका हुन्।
संघले पोखराको लेकसाइडस्थित खहरेचोकदेखि सहिदचोकको बीच सडकमा यो महोत्सव आयोजना गर्दै छ।
पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले यो महोत्सव नियमति रुपमा गर्दै आएको छ।
महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था रहनेछ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पंचेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका प्रमुख आकर्षण हुन्।
सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम पनि हुनेछन्।
महोत्सवका अवसरमा स्थानीय खहरेबाट निकालिने झाँकी अम्बोटमा पुगेपछि औपचारिक उद्घाटन सुरु हुनेछ।
महोत्सवलाई भव्य बनाउन विभिन्न उपसमितिबाट काम जारी छन्।
केही दिन अघि पूर्वी नेपालका विभिन्न शहरमा पुगी नेपाल पर्यटन बोर्ड गण्डकीसँगको समन्वयमा ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत संघले फेवा महोत्सवको निम्ता बाँडिसकेको छ।
लुम्बिनी प्रदेशका संचारकर्मीमार्फत् पश्चिमका बासिन्दालाई पनि महोत्सवका सहभागिताका लागि आमन्त्रण पनि संघले गरेको छ।
यही चैत २८ गते पोखरामा हुने रात्री दौडका आयोजक पोखरा क्लिक र पोखरा प्रबर्द्धन केन्द्रसँग सहकार्य गर्दै संघले महोत्सव प्रचारको कार्यक्रम पनि अगाडि बढाएको छ।
महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुग्ने विषय पनि अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले सुनाए।
नेपाली नयाँ बर्ष–२०८३ मनाउन यसपटक ३ लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने होटल संघ पोखरा नेपालले अनुमान गरेको छ।
अध्यक्ष लक्ष्मण सुवेदीले सो आँकडा सुनाएका हुन्।
महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन्।
ई–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि ई–सेवाले अगाडि सारेको छ।
फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सह–प्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, ई–सेवा, युनाइटेड वाइनरी प्रालि छन्।
इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ।
महोत्सव प्रबर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश छन्।