
पोखराको हेमजामा श्रीमद्भागवत् सप्ताह पितृउद्धार ज्ञानविज्ञान महायज्ञ गरिदैंछ।
पोखरा–२५ हेम्जा, बाबियातहरास्थित मानवसेवा आश्रमले आगामी १९ देखि २६ वैशाखसम्म श्रीमद्भागवत् सप्ताह पितृउद्धार ज्ञान-विज्ञान महायज्ञ आयोजना गर्ने भएको हो।
सोमबार आश्रमले पत्रकार सम्मेलन गरी उक्त महायज्ञबारे जानकारी दिएको हो।
महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेमजा शाखाको भवन निर्माण पूरा गर्ने, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धिका लागि खर्च गर्ने महायज्ञ मूल समारोह समिति संयोजक अनिलकुमार शाहीले जानकारी दिए।
महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नेछन्।
महायज्ञ अवधिभर कथा वाचनसँगै विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ।
आश्रमका लागि आर्थिक संकलन मात्र नभइ धर्म, संस्कार, सामाजिक सेवा र मानवताको सन्देश प्रवाह गर्नु रहेको महायज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य रहेको मानवसेवा आश्रम अध्यक्ष रामजी अधिकारीले बताए।
२०६८ भदौ १३ मा मानवसेवा आश्रमले मकवानपुरको हेटौंडाबाट मानवीय सेवा सुरुवात गरेको जानकारी अधिकारीले दिए।
अधिकारीका अनुसार, हाल देशैभरि २२ जिल्लामा २९ वटा सेवा केन्द्र संचालनमा रहेका र ती केन्द्रमा २ हजार १ सय जना सहयोगापेक्षी छन्।
मानवसेवा आश्रम देशभरबाट सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार गरी उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गर्दै आएको छ।
आश्रम व्यवस्थापनका लागि समय-समयमा आश्रमको पूर्वाधार निर्माण, सेवा विस्तार र अक्षयकोष वृद्धिका लागि बेलाबेलामा महायज्ञ आयोजना गर्दै आइएको जानकारी पनि अधिकारीले दिए।
महायज्ञ शुभारम्भका दिन बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजन, कीर्तनसहित शोभा कलशयात्रा गरिनुको साथै योग शिविरसमेत संचालन गरिने कार्यक्रम छ।
महायज्ञ अवधिभर नि:शुल्क स्वास्थ्य शिविर, भजन कीर्तन, गीत, संगीत, देवलीला, पञ्चायन पूजा, पितृउद्धार, तुलादान, ग्रहशान्ति चौरासी पूजा जप, पाठ, परायणलगायत आर्मिक अनुष्ठानका सेवा महायज्ञको समयमा गरिने जानकारी पत्रकार सम्मेलनमा जनाएको छ।
सडकपेटी तथा चिसो सिंढीबाट असहायहरुको उद्धार गरी सहयोगापेक्षीलाई आश्रमसम्म पुर्याउने र २०८३ सालभित्र नेपाललाई तीनै तहको सरकारको सहभागिता र अभिभावकत्वमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राट्र घोषणा गर्ने र पूर्ण कार्यान्वयन गर्ने लक्ष्यका साथ आश्रम अगाडि बढेको जानकारी अध्यक्ष अधिकारीले दिए ।
महायज्ञ मूल समारोह समिति सहसंयोजकमा धर्मराज बास्तोला, सचिव पदमबहादुर केसी, सह-सचिव भीम श्रेष्ठ, कोषाध्यक्ष मीना कुँवर र सह-कोषाध्यक्ष रुद्रनाथ पौडेल छन्।
हेमजाको आश्रममा रहेका २ सय ७५ जनाका लागि मासिक ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।
यहाँ विभिन्न संघसंस्था र नेपाल सरकारको सहयोगमा ८ करोडको लागतमा आश्रम निर्माण गरिएको छ।
निर्माणकार्य पूरा गर्न अझै १ करोड ५० लाख लाग्ने अनुमान लगाइएको छ।