तनहुँको बन्दीपुरमा यही वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला’ हुँदैं

‘बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष’ घोषणा गरेको सन्दर्भ पारेर वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला’ गर्न लागिएको हो

जनसम्मत
वैशाख ७, २०८३, सोमबार

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँ बन्दीपुरमा ‘गाउँ पर्यटन मेला-२०८३’ हुने भएको छ।

गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय ‘गाउँ पर्यटन मेला-२०८३’ आयोजना गर्न लागेको हो।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह-आयोजनामा यही वैशाख १८ र १९ गते पर्यटन मेला गर्न लागिएको हो।

बन्दीपुर गाउँपालिकाले ‘बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष’ घोषणा गरेको सन्दर्भ पारेर पर्यटन मेला गर्न लागिएको आयोजक संस्था पोखरा पर्यटन बोर्ड, गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

गाउँका साना पर्यटन व्यवसायी र समुदायिक होमस्टेलाई सीधै शहरी बजार र ठूला एजेन्सीहरुसँग जोडने प्लेटफर्मको रुपमा विकास गर्ने, होमस्टे र त्यहाँबाट दिने सेवालाई बजारसँग जोड्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ।

उक्त मेलामा बन्दीपुरको पर्यटन हिँजो, आज र भोलिका बारेमा सामुहिक छलफल, गाउँ पर्यटनबाट समृद्धिको यात्रा, विभिन्न जातजातिको संस्कृतिक प्रस्तुति एवं प्रवर्द्धन, सामुदायिक घरवास तथा पर्यटन व्यवसायीका स्टलहरु स्थापना, सूचना तथा प्रचार सामग्री वितरण गरिने जानकारी बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले दिए।

गाउँका धेरै नयाँ गन्तव्यहरु उचित प्रवर्द्धनको अभावमा ओझेल परिरहेको अवस्थामा यस मेलाले सहयोगी भूमिका खेल्ने अध्यक्ष थापाको भनाई छ।

अध्यक्ष थापाले मेलामा तनहुँका ३० भन्दा वढी गाउँ पर्यटनसम्वद्ध होमस्टे फर्म, पर्यटन व्यवसायी नीति निर्माताहरु, स्थानीय तहका प्रतिनिधि, विभिन्न संघसंस्था, संचारकर्मी, स्वदेशी तथा विदेशी पर्यटक र विश्वविद्यालयका विद्यार्थीहरु मेला स्थलमा पुग्ने जानकारी पनि दिए।

उक्त कार्यक्रममा सहकार्यका भूमिकामा बन्दीपुर क्षेत्रीय होटल बन्दीपुर इकाई, पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ नेपाल, गण्डकी, रेष्टुरेण्ट एण्ड बार एशोसियसन तनहुँ रहने छन्।

अध्यक्ष थापाका अनुसार मेलामा बन्दीपुरका ९ वटा साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनुको साथै तनहुँको ऐतिहासिक तथा सांस्कृतिक बजार बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको जानकारी पनि अध्यक्ष थापाले दिए।

सर्किटमा बन्दीपुर–२ को मोहोरिया, रामकोट, व्यास–१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर–६ धरमपानी, व्यास–१२ कमलाबारी, बन्दीपुर–५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन्।

अध्यक्ष थापाले बन्दीपुरको पर्यटन क्षेत्रमा ६ सय करोड भन्दा वढीको लगानी रहेको बताए।

भ्रमण वर्ष २०२५ मा बन्दीपुरमा स्वदेशी तथा विदेशी गरी ६ लाख २५ लाख पर्यटक पुग्ने गरेको तथ्यांकसमेत अध्यक्ष थापाले पेश गरे।

अध्यक्ष थापाले यस वर्ष ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ मा ७ लाख पर्यटक भित्राउने लक्ष्य रहेको बताए।

बन्दीपुर क्षेत्रमा मात्र ७ वटा व्यवसायिक होमस्टे छन्।

अर्गानिक खाना, रैथाने अन्नवाली, परम्परागत कला संस्कृतिकोसमेत प्रबर्द्धन एवं संरक्षण गर्न मेला फलदायी हुने विश्वास गरिएको छ।

व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ‘मोडेल’का रूपमा अगाडि सारिएको छ।

सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि ओझेलमा परेको बन्दीपुर यतिवेला सोही सहर पुन: खुला र जीवन्त सांस्कृतिक संग्रहालयका रूपमा स्थापित हुँदै गएको छ।

‘पहाडकी रानी’ उपनामले समेत चिनिने यो बजारले छुट्टै पहिचान बनाइसकेको छ।

अब, होमस्टेमार्फत यहाँको पर्यटन प्रवर्द्धनका लागि थप काम गर्न खोजिएको अध्यक्ष थापाको भनाई छ।