पत्रकार महासंघले घोषणा गर्‍यो आन्दोलनको कार्यक्रमहरु

हेरौं, के के छन् आन्दोलका कार्यक्रमहरु ?

जनसम्मत
वैशाख ८, २०८३, मंगलवार

नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले सरकारी विज्ञापन सम्बन्धमा सरकारले जारी गरेको परिपत्रविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तीन तहकै सरकारी विज्ञापन सरकारी संचार माध्यमहरुलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको विभेदकारी निर्णय र जारी परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तराष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक प्रवन्ध, खुला अर्थ नीति र संघीयताको मर्मविपरित भएको ठहर गर्दै नेपाल पत्रकार महासंघले २०८२ चैत्र २३ गते संचार तथा सूचना प्रविधि मन्त्रीसमक्ष निर्णय फिर्ता लिन माग गर्दै ज्ञापन-पत्र बुझाएकोमा समस्या समाधानमा सरकार उदासिन देखिएकाले महासंघ देशव्यापी रुपमा दवावमूलक अभियान संचालन गर्ने निर्णयमा पुगेको छ।’
महासंघले चरणबद्ध रुपमा ७ बुँदे आन्दोलनका कार्यक्रमहरु तय गरेको जनाएको छ।

जसअनुसार, २०८३ बैशाख ९ गते महासंघका सबै प्रदेश शाखा समितिले मुख्यमन्त्रीसंग छलफल गरी महासंघको धारणा प्रष्ट पार्ने र प्रदेश सरकारको धारणा लिने कार्यक्रम तय गरेको छ।

२०८३ बैशाख १० गते विहान १० बजे महासंघका सबै जिल्ला शाखाहरुले सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाउने तय गरेको छ।

सोही दिन दिउँसो १ बजे महासंघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी महासंघको अवधारणा सार्वजनिक गर्ने कार्यक्रम छ।

त्यसैगरी, बैशाख ११ गते सबै संचार माध्यमहरुलाई सम्पादकीय एक्यबद्धतामार्फत सरकारको विभेदकारी निर्णय र परिपत्रको विरोध जनाउने कार्यक्रम गर्ने कार्यक्रम छ।

सोही दिनको विहान ८ बजे पत्रकार महासंघका सबै सदस्यहरुमार्फत सामाजिक सञ्जालमा विरोधका सामग्रहरु सार्वजनिक गर्ने कार्यक्रम छ।

बैशाख १४ गते राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ।

बैशाख १५ गते स्थानीय तह नगरपालिका, गाउँपालिका, महासंघ केन्द्रीय समिति र जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहलाई संघीय सरकारको निर्णय र परिपत्र अवज्ञा गर्न आब्हन गर्दै शाखाहरुले ज्ञापन-पत्र बुझाउने कार्यक्रम छ।

माग पूरा नभए उल्लेखित कार्यक्रमहरुको समीक्षा गरी महासंघ थप आन्दोलनमा उत्रने विज्ञप्तिमा जनाइएको छ।

हेरौं, प्रेस विज्ञपितको पूर्ण पाठ