गण्डकी प्रदेशका १४ युवा प्रतिभाहरुलाई सम्मान प्रदान

गण्डकी प्रदेश सामाजिक मन्त्रालयका सचिव डा. शेषनारायण पौडेल भन्छन्, ‘युवा उमेरले होईन, सोंचले निर्धारण गर्छ’

जनसम्मत
वैशाख १८, २०८३, शुक्रबार

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १४ जना युवालाई सम्मान गरेको छ।

गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरेको हो।

गण्डकी प्रदेशमा रहेर कृषि, कला, उद्यम, संचार, अध्ययन अनुसन्धानलगायतका क्षेत्रमा योगदान पुर्‍याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरेको हो।

यसरी, पुरस्कृत हुनेहरुमा संचार क्षेत्रबाट अन्नपूर्णकर्मी कविता श्रेष्ठसहित गीत संगीत क्षेत्रबाट सन्तोष बस्याल, अध्ययन अनुसन्धानको क्षेत्रबाट डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुषाल, युवा सशक्तिकरण तथा नेतृत्व बिकास क्षेत्रबाट पवन भूर्तेल, कलाक्षेत्रबाट ज्योति गुरुङ र हेमकान्ति गुरुङ, खेलकुदबाट रेखमाया गुरुङ, सूचना प्रविधि तथा उद्यमशीलताबाट महेश गौतम, उद्यमशीलता र पर्यटन प्रवर्दन तर्फ अर्जुन भण्डारी, सामाजिक विकास तथा सुधारको क्षेत्रबाट सौगात वाग्ले, उद्यमशीलता तथा रोजगारीको क्षेत्रबाट दीपक कार्की तथा समाजसेवा र स्वयंसेवाको क्षेत्रबाट अंशु शेर्पा छन्।

उनीहरुलाई सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव डा. शेषनारायण पौडेल, उपसचिव घनश्याम पौडेललगायतले सम्मान गरे।

पुरस्कारका लागि मन्त्रालयले खुल्ला गरेको आवेदनमा कुल १६ जनाको आवेदन परेपनि १४ जना छनौट भएको प्रस्ताव मुल्यांकन समितिका संयोजक घनश्याम पौडेलले जानकारी दिए।

मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले युवा उमेरले होईन सोचले निर्धारण गर्ने बताए।

उनले युवामा सकारात्मक सोंच, सिर्जनशीलता, अनुशासन, इमान्दारिता हुनुपर्ने बताए।

कार्यक्रममा सम्मानीतहरुको तर्फबाट गण्डकी विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका डा. राजकुमार थापा र संचारकर्मी कविता श्रेष्ठले बोलेका थिए।

कार्यक्रमको संचालन नारायणप्रसाद बास्तोलाले गरेका थिए।