पत्रकार महासंघ कास्कीले बुझायो स्थानीय तहलाई ज्ञापन-पत्र

सरकारले निर्णय तत्काल नसच्याए आन्दोलनको चेतावनी

जनसम्मत
वैशाख १५, २०८३, मंगलवार

नेपाल पत्रकार महासंघ, कास्कीले सरकारले निजी क्षेत्रका संचारमाध्यमलाई लक्षित गर्दै ल्याएको विज्ञापन नीतिप्रति संघीय सरकार तथा जिल्लाका विभिन्न स्थानीय तहलाई ज्ञापन-पत्र बुझाएको छ।

महासंघ, कास्की शाखाले आज (मंगलबार) गंभीर ध्यानाकर्षण भएको जनाउँदैं कास्कीका स्थानीय तह पोखरा महानगरपालिका, रुपा गाउँपालिका, मादि गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकालाई ज्ञापन-पत्र बुझाएको हो।

महासंघ कास्की शाखा अध्यक्ष माधवप्रसाद बरालको नेतृत्वमा गएको टोलीले कास्की जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलमार्फत सो ज्ञापन-पत्र बुझाएको हो।

महासंघले स्थानीय तहहरुलाई उक्त निर्णय तत्काल सच्याउन मागसमेत गरेको छ।

विषेशगरी सरकारी विज्ञापन सरकारी संचारमाध्यमलाई मात्र दिने सरकारको निर्णयलाई विभेदकारी, निरंकुश र प्रेस स्वतन्त्रता विरोधी भएको ज्ञापन-पत्रमा उल्लेख गरेको छ।

ज्ञापन-पत्रमा सरकारको यस्तो निर्णयले निजी संचारमाध्यमलाई धराशायी बनाउने षडयन्त्र रचेको आरोप लगाइएको छ।

महासंघले सरकारको यो कदमले राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रमाथि प्रत्यक्ष प्रहार गरेको पनि ठहर गरेको छ।

विषेशगरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक र संचारको हकसमेत यस निर्णयबाट प्रभावित हुने महासंघको ठम्याई छ।

उक्त ज्ञापन-पत्रमा २०८२ चैत १८ गते मन्त्रिपरिषद् कार्यालयबाट जारी परिपत्रप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरोकारवाला पक्षसँग कुनैपनि प्रकारको सामान्य परामर्श पनि नगरी यस्तो निर्णय लिइनु आपत्तिजनक भएको उल्लेख गरिएको छ।

उक्त निर्णय अन्तर्राष्ट्रिय मापदण्ड, स्वतन्त्र पत्रकारिता, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको महासंघले जनाएको छ।

यस विषयलाई लिएर महासंघ कास्कीका अध्यक्ष बरालले सरकारको निर्णयले जिल्लाका एक सयभन्दा बढी संचार संस्था तथा तिनमा कार्यरत संचारकर्मी प्रत्यक्ष प्रभावित हुने बताए।

यसले श्रमजीवी पत्रकारहरूको रोजगारी संकटमा पार्ने, संचार क्षेत्रलाई कमजोर बनाउने र लोकतान्त्रिक प्रतिबद्धतामाथि नै प्रश्न उठाउने बरालले बताएका छन्।

सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी र समानुपातिक बनाउन, श्रमजीवी पत्रकारको पारिश्रमिक तथा सेवा-सुविधा सुनिश्चित गर्न तथा विज्ञापनमा हुने चुहावट नियन्त्रण गर्न सरकारसँग बरालले माग गरेका छन्।

ज्ञापन-पत्रमार्फत महासंघ कास्कीले सबै स्थानीय तहलाई सरकारको यस्तो विभेदकारी निर्णय कार्यान्वयन नगर्न आह्वान गर्दै तत्काल सो निर्णय सच्याउन माग गरेको छ।

यदि, सरकार आफ्नो यस विभेदकारी निर्णयबाट सरकार पछि नहटे थप कडा आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने पनि ज्ञापन-पत्रमार्फत चेतावनी दिइएको छ।

हेरौं, ज्ञापन-पत्रको पूर्ण पाठ