
नेपालमा पनि विभिन्न कार्यक्रम को आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ।
नेपाल पत्रकार महासंघले दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलाबाट ऐक्यबद्धता र्यालीको निकाल्यो।
नयाँ बानेश्वरमा र्याली पुगेर कोणसभामा परिणत भएको थियो।
पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कोणसभामा बोल्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा राखिन्।
शर्माले लेखेको र बोलेकै कारण मिडियामाथि राज्य र गैरराज्यबाट दमन भइरहेको आरोप पनि लगाइन्।
शर्माले भनिन्, ‘नेपाल पत्रकार महासंघले पछिल्लो वर्ष मिडिया मनिटरिङ गर्दा प्रेस स्वतन्त्रताको घटना बढेको देखिएको छ। गत वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हनन् का घटना घटेका थिए भने यस वर्ष १३१ हनन्का घटना भएका छन्। अझै कतिपय घटनाहरु हामीसम्म आइपुगेका छैनन्। लेखेको र बोलेका कारण मिडियामाथि अझै राज्य र गैरराज्यबाट दमन भइरहेको छ।’
वर्तमान सरकारले धेरै पत्रकारको रोजीरोटी खोस्ने काम गरेको बताउँदैं शर्माले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएको बताइन्।
उनले भनिन्, ‘लोकतन्त्रप्रति विश्वास गर्ने, लोकतन्त्र ल्याउन ठूलो भूमिका निर्वाह गर्ने मिडियाहरुको मुख बन्द गर्ने काम सरकारले गरेको छ। धेरै पत्रकारहरुको रोजीरोटी खोस्ने काम गरेको छ। मिडियामाथि आर्थिक नाकावन्दी नै लगाएको छ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अवरोध भए कानूनी उपचारका साथै स्वतन्त्रताका पक्षमा नैतिक समर्थन जनाउने बताए।
मिश्रले भने, ‘कानुन र नियममा मात्र उल्लेख गरेर प्रेस स्वतन्त्रता सँधै सुरक्षित हुँदैन। अघिल्लो पुस्ताले पुर्याएको योगदानलाई थप मजबुत बनाउँदै आगामी पुस्ताका लागि सशक्त प्रेस स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ।’
दुई तिहाइ नजिकको सरकारले संसदप्रति पर्याप्त आत्मविश्वास देखाउन नसकेको बताउँदै अध्यादेशको सहारा लिएको टिप्पणी गरे।
मिश्रले प्रेस स्वतन्त्रता पूर्वजहरूको ठुलो बलिदानबाट प्राप्त भएको स्मरण गर्दै यसलाई संविधानमा लेखेर मात्र नभई व्यवहारमा उतारेर संरक्षण गर्नुपर्ने बताए।
उनले नेपाल पत्रकार महासंघले उठाएका माग र एजेन्डाप्रति बार एसोसिएसनको पूर्ण प्रतिबद्धता जनाउँदैं विज्ञापनका माध्यमबाट वा न्यूनतम सुविधा कटौती गरेर प्रेसलाई अप्रत्यक्ष रूपमा नियन्त्रण गर्ने प्रयासविरुद्ध बार सजग रहेको उल्लेख गरे।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अंग भएकाले त्यसको हनन् भएमा आयोग रक्षार्थ उभिने प्रतिवद्धता जनाए।
यस वर्षको विश्व प्रेस दिवसमा ‘शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारा तय गरेको थियो।
३५ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसंघद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो।
त्यसैले, मे ३ लाई विश्वभर प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ।
प्रेसको भूमिका संकुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ।