पुलिसले जित्यो महिलातर्फको पीएम कप एनभीए भलिबल लिगको उपाधि

फाइनलमा न्यू डायमन्डलाई विभागीय नेपाल पुलिस क्बलले ३–१ को सेटमा हरायो

जनसम्मत
वैशाख १९, २०८३, शनिबार

विभागीय नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनल खेलमा विभागीय नेपाल पुलिसले न्यू डायमन्ड युथ स्पोर्टस क्लबलाई हराउँदै चौथो पटक उपाधि जित्यो।

पुलिसले न्यू डायमन्डलाई ३–१ को सेटमा हराउँदै उपाधिमाथि कब्जा जमायो।

पुलिसले पहिलो सेट २५–२१, तेश्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जित्यो।

उता, न्यू डायमन्डले भने दोश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो।

उपाधिसँगै पुलिसले १० लाख र उपविजेता न्यू डायमन्डले ५ लाख रुपैयाँ पुरस्कार पायो।

अब, पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछ।
प्रतियोगितामा महिलातर्फ ६ टोलीको प्रतिस्पर्धा थियो।

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा खेल गएको वैशाख १० गतेदेखि सुरु भएको थियो।

 

पुलिसकी उषा भण्डारी लिगको ‘सर्वोत्कृष्ट खेलाडी’

 

च्याम्पियन नेपाल पुलिस क्लबकी उषा भण्डारी दसौं पीएम कप एनभीए महिलातर्फ भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

शनिबार सम्पन्न लिगमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन उषाले उत्कृष्ट प्रदर्शनसहित महत्वपूर्ण भूमिका निभाइन्।

उषाले, महिलातर्फ लिगको ‘सर्वोत्कृष्ट खेलाडी’ बनेसँगै ६० हजार रपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेकी छन्।

पुलिसकै लक्ष्मी चन्द ‘उत्कृष्ट स्पाइकर’ बनिन्।

नेपाल पुलिस क्लबकै रुपेश बिष्ट ‘उत्कृष्ट प्रशिक्षक’ बने।

न्यू डायमण्डकी सलिना श्रेष्ठ ‘उत्कृष्ट लिबेरो’ बनिन्।

न्यू डायमण्डकै प्रगति नाथ ‘उत्कृष्ट सेटर’ घोषित भइन्।

न्यू डायमण्डकी सुमित्रा रेग्मीले ‘उत्कृष्ट सर्भर’ र ‘उत्कृष्ट ब्लकर’ दुवै विधाको उपाधि हात पारिन्।

विधागततर्फका उत्कृष्ट खेलाडीहरुले ३० हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पाएका छन्।