
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनल खेलमा पुरुषतर्फ रुकुमले हेल्प नेपाललाई ३–० को सोझो सेटमा हरायो।
रुकुमले पहिलो सेट २९–२७, दोश्रो सेट २५–२१ र तेश्रो सेट ३२–३० ले हरायो।
उपाधिसँगै रुकुम पश्चिमले १० लाख पुरस्कार हात पारेको छ।
उता, उपविजेता बनेको हेल्प नेपालले ५ लाख रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ। लिगमा पुरुषतर्फ ८ टोलीको प्रतिस्पर्धा थियो।
अब एनभीए लिगको पुरुषतर्फको विजेता रुकुम पश्चिमले सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न पाउनेछ।
नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा खेल गएको वैशाख १० गतेदेखि सुरु भएको थियो।

रुकुम पश्चिम भलिबल क्लबका पाकिस्तानी खेलाडी फहद राजा दसौं पीएम कप एनभीए पुरुषतर्फको ‘सर्वोत्कृष्ट खेलाडी’ बनेका छन्।
शनिबार सम्पन्न लिगमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन फहद राजाले उत्कृष्ट प्रदर्शनसहित महत्वपूर्ण भूमिका निभाए।
फहदले, लिगको पुरुषतर्फ लिगको ‘सर्वोत्कृष्ट खेलाडी’ बनेसँगै ६० हजार रपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन्।
रुकुम पश्चिमकै पाकिस्तानी खेलाडी आफर खान ‘उत्कृष्ट स्पाइकर’ घोषित भए।
त्यसैगरी, रुकुम पश्चिमकै राजन दर्लामी ‘उत्कृष्ट लिबेरो’ चुनिए।
रुकुम पश्चिमकै आदन खान ‘उत्कृष्ट सेटर’ बने।
रुकुम पश्चिमकै तेजविक्रम बुढा ‘उत्कृष्ट प्रशिक्षक’ बने।
हेल्प नेपालका पाकिस्तानी खेलाडी मुरद जेहन ‘उत्कृष्ट सर्भर’ बने।
हेल्प नेपालकै चिरञ्जीवी खड्का ‘उत्कृष्ट ब्ल्कर’ बने।
विधागततर्फ उत्कृष्ट बनेका खेलाडीहरुले समान ३० हजार नगद पुरस्कार प्राप्त गरे।