
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकारहरुका आँखाहरु अन्धो हुन नहुने कुरामा जोड दिएका छन्।
पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख भट्टले भने, ‘पत्रकारहरु भनेको समाजका आँखाहरु हुन्।पत्रकारहरुका कलमहरु कहिलेकाँही दुरुपयोगसम्म हुने गरेका छन्। निष्कलङ्क व्यक्तिहरुको चरित्रहत्यासम्म हुने गर्दछ। यसर्थ, पत्रकारहरुका आँखाहरु कहिल्यै अन्धो बन्नुहुँदैन।’
भट्टले मुलुक परिवर्तनमा संचार जगतको भूमिका स्मरणीय रहेकोसमेत उल्लेख गरे।
‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ। पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु’, भट्टले भने।
पत्रकारिता पेसा मात्र होइन, यसलाई महत्वपूर्ण सामाजिक दायित्व र चुनौतीपूर्ण सेवाका रुपमा लिनुपर्नेमा उनले जोड दिए।
उनले राष्ट्रको चौथो अंगका रूपमा समाजलाई सही मार्गमा अघि बढाउने जिम्मा पत्रकारिता जगतमै रहेको बताए।
उनको भनाई थियो ‘सत्य, निष्पक्ष र उत्तरदायित्व वहन गर्दै सही सूचना समाचार प्रवाह गर्ने पत्रकारिता जगत राज्य र नागरिकबीचको सेतु हो। जसले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ।’
प्रदेश प्रमुख भट्टले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गरे।
यो एआई डिजिटल युगमा आफूलाई समयानुकूल अपडेट गर्दै क्षमता अभिवृद्धितर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।
उनले थपे, ‘बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न थालिसकेको छ। भ्रामक सूचनाको भीडमा सत्य र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्नु आजको मुख्य आवश्यकता हो।’
आर्थिक संकटले संचारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेकोमा उनले चिन्ता व्यक्त गरे।
उनले नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् रहेको र श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्था तथा पत्रकारहरुको सबलीकरणको दिशामा राज्यले उचित ध्यान पुर्याउनुपर्ने औंल्याए।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संचार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्दछ’, प्रदेश प्रमुख भट्टले जोड दिए।
उनले प्रजातन्त्र सेनानी दयाशंकर पालिखेले प्रजातन्त्रको स्थापना र सम्वर्द्धनमा पुर्याएको योगदानलाई स्मरणसमेत गरे।
पत्रकार महासंघ कास्की अध्यक्ष बरालले प्रेस संकूचित पारेर लोकतन्त्र सुदृढ हुन नसक्ने बताए।
उनले सरकारी विज्ञापन निजी मिडियालाई छेक्ने सरकारको कदमविरुद्ध महासंघको आन्दोलन जारी रहेको बताए।
कार्यक्रममा अक्षयकोष स्थापना गर्ने पालिखे परिवारका तर्फबाट सुनयना पालिखे, प्रतिभा छनोट समिति संयोजक रवीन्द्रनाथ बास्तोला, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य बासुदेव मिश्र, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पत्रकार महासंघ कास्की सचिव भूपाल गुरुङसमेतले बोलेका थिए।