रारा पोखरा स्पोर्टस अवार्ड-२०८२ को नोमिनेसन सार्वजनिक

दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकारको अवार्ड

जनसम्मत
वैशाख २४, २०८३, बिहीवार

दशौं संस्करणको रारा पोखरा स्पोर्टस अवार्ड-२०८२ को नोमिनेसन सार्वजनिक गरिएको छ।

खेलकुद पत्रकार मञ्च गण्डकीले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर यहि बैशाख ३१ गते आयोजना गर्ने रारा पोखरा स्पोर्टस अवार्ड-२०८२ को ४ विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।

यस संस्करणको स्पोर्टस अवार्डका लागि वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३/३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो।

रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा विज्ञान टी खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जुविक्रम शाह (भलिबल) नोमिनेसनमा परेका छन्।

त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधाका लागि मनोनयनमा मोनिका राना (आर्चरी), नारायणी भण्डारी (एथ्लेटिक्स) र मनिषा तामाङ (जुडो) छन्।

वर्ष उदीयमान खेलाडीमा अनुस्का अधिकारी (एथ्लेटिक्स), सचिन सुनार (तेक्वान्दो) र निभा राई (व्याडमिन्टन) नोमिनेसनमा छन्।

त्यसैगरी, वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा कुमार अधिकारी (टेनिस), रेखमाया गुरुङ (तेक्वान्दो ) र सिद्धान्त अधिकारी (एथ्लेटिक्स) छन्।

मञ्चले यस वर्ष उत्कृष्ट खेल संघको अवार्ड कास्की जिल्ला क्रिकेट संघलाई प्रदान गर्नेछ।

क्रिकेट संघले पछिल्लो क्रममा मैदान सुधारदेखि प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिदैं आएको छ।

मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष दीननाथ बराललाई प्रदान गर्ने भएको छ।

विगत, २ दशकभन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्व अध्यक्ष हुन् भने उनी रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक डटकममा कार्यरत छन्।