प्रदीप खड्का र नारायणी भण्डारी रारा पोखरा स्पोर्टसका वर्ष खेलाडी

ओलम्पियन टिकाबहादुर बोगटीलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड

जनसम्मत
वैशाख ३१, २०८३, बिहीवार

प्रदीप खड्का र नारायणी भण्डारी यस संस्करणको रारा पोखरा स्पोर्टसका वर्ष खेलाडी घोषित भएका छन्।

खेलकुद पत्रकार मञ्च गण्डकीले विहीबार पोखरमा आयोजना गरेको १० औं पोखरा स्पोट्र्स अवार्डमा टेनिसका प्रदीप र एथलेटिक्सकी नारायणी वर्ष खेलाडी घोषित भएका हुन्।

वर्ष उत्कृष्ट पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी घोषित भए।

उनीहरुले अवार्डसहित हिरोको जुम स्कुटर प्राप्त गरे।

पुरुषतर्फ उत्कृष्ट ३ मनोनयनमा जुडोका विज्ञान टी खत्री र भलिबलका सञ्जुविक्रम शाह प्रतिस्पर्धामा थिए।

महिलातर्फ नारायणीसँगै जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा थिए।

यसैगरी, भलिबल खेलाडी राजन दर्लामीमगर पिपुल च्वाइसमा परे।

राजनले पनि अवार्डसहित जुम स्कुटर प्राप्त गरे।

पिपल च्वाइस अवार्डका लागि राजनसहित फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका विपीन खत्री मनोनयनमा परेका थिए।

दर्शकले गरेको भोटका आधारमा उनले सर्वाधिक ६४ प्रतिशत भोट प्राप्त गरे।

उनका प्रतिस्पर्धी फुटबलका दीप कार्कीको पक्षमा करिब २० प्रतिशत भोट थियो।

यसैगरी, लाइफटाइफ एचिभमेन्ट अवार्ड एथ्लेटिक्सका खेलाडी ओलम्पियन टीकाबहादुर बोगटीले प्राप्त गरे।

गोरखाका बोगटीले विगतमा २ पटक ओपम्पिकमा सहभागी बनेका थिए।

बोगटी, चाँदीको करुवा, अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मानीत भए।

यसैगरी, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला क्रिकेट संघ, वर्ष उदीयमान खेलाडी ब्याटमिन्टनकी नीभा राई, स्पेशल अवार्ड पारा खेलाडी सुस्मा तामाङ, वर्ष उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीननाथ बराल सम्मानीत भए।

उनीहरुले अवार्डसँगै नगद ३ं५ हजार रुपैयाँ र सम्मापत्र प्राप्त गरे।

आयोजक मञ्च अध्यक्ष एमबी आस्थामगर, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसी, गुरुङ गहनाघरका संचालक सीमा गुरुङ, रुपाकोट ज्योति सुनचाँदी पसलका संचालक दशरथ सुनार, तमुधिं यूकेका ट्रष्टी महेश गुरुङ, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायतले अवार्डसहित उनीहरुलाई सम्मान गरे।

गायिका मिलन नेवारको गीत र सेन्ट मेरिज स्कुलका विद्यार्थीको झ्याउरे नृत्यले झनै मनोरञ्जन थप्यो।