
पोखरामा मंगलबार तेस्रो संस्करणको तरबुजा मेला-२०८३ को आयोजना गरिएको छ।
पोखरा महानगरपालिका-१३ को वडा कार्यालय परिसरमा सो मेला आयोजना गरिएको हो।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र पोखरा–१३ को आयोजनामा तथा वडास्तरीय कृषि सञ्जाल पोखरा-१३ को व्यवस्थापनमा मेलाको आयोजना गरिएको हो।
मेलामा करिब १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन र किसानलाई प्रत्यक्ष बजार उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जनाए।
कडरियाले पोखराका फाँट क्षेत्रसँगै अन्य स्थानमा पनि व्यावसायिक तरबुजा खेती विस्तार भइरहेको जनाए।
मेलामा उपभोक्ताको उल्लेख्य सहभागिता रहेको उनले बताए।
मेलामा करिब २० हजार केजी तरबुजा बिक्री भएको उनले उल्लेख गरे।
मेलामा प्रतिकिलो ५५ रुपैयाँका दरले तरबुजा बिक्री भएको थियो।
मेलामा कृषक र उपभोक्ताबीच प्रत्यक्ष किनमेल गराइएको थियो भने सहभागीलाई नि:शुल्क रूपमा तरबुजा चखाउने व्यवस्थासमेत गरिएको थियो।
मेलामा करिब २२ वटा स्टलहरु थिए।
सो अवसरमा उत्कृष्ट तरबुजा उत्पादक किसानलाई सम्मान समेत गर्यो।
३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्दै आएका पोखरा-३३ का किसान रमेश आचार्य नगद १० हजार रुपैयाँसहित प्रशंसापत्रद्वारा सम्मानीत भए।
त्यसैगरी, २४ रोपनी क्षेत्रफलमा खेती गरेका ज्ञानबहादुर कार्की दोस्रो, पोखरा-२२ का सुन्दर बराल तेस्रो तथा श्रीधरलाल बरालले सान्त्वना पुरस्कार प्राप्त गरे।
मेलाको अवसरमा महिला तथा पुरुषको तरबुजा दौड प्रतियोगिता र तरबुजा खाने प्रतियोगिता समेत आयोजना गरिएको थियो।
तरबुजा खाने प्रतियोगितामा पोखरा–२३ का गुरुदत्त पराजुली प्रथम, पोखरा–२९ का कुमार थापामगर द्वितीय तथा पोखरा-३० का सत्यराज भट्टराई तृतीय भए।
त्यसैगरी, ‘कृषि सवाल’ कार्यक्रमको १० औँ अंकअन्तर्गत ‘तरबुजा बहस’ पनि आयोजना गरिएको थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सो मेलाको उद्घाटन गरेका हुन्।
उनले पोखराको हावापानी तरबुजा खेतीका लागि उपयुक्त बन्दै गएको बताए।
यहाँ करिब ९० दिनमै उत्पादन तयार हुने उनले बताए।
मेयर आचार्यले महानगरले किसानलाई आवश्यक प्राविधिक तथा व्यावसायिक सहयोग गर्दै आएको उल्लेख गरे।
उनले पोखरामा सरस्वती जातको तरबुजा बढी उत्पादन भएको जनाए।
पोखराका विभिन्न वडामा करिब ५ सय रोपनी क्षेत्रफलमा व्यावसायिक तरबुजा खेती भइरहेको मेयर आचार्यले दाबी गरे।
पोखरा-३३ तल्लो भाग, पोखरा–२३ पामे, पोखराका १६, १३, १४ र २६ वडा नम्बरहरुमा तरबुजा खेती विस्तार हुँदै गएको उनले उल्लेख गरे।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीकी सचिव डा. प्रेरणा सेढाइँले पोखरामा व्यावसायिक तरबुजा उत्पादन भइरहेको विषय आफूले पहिलो पटक थाहा पाएको बताइन्।
उनले मन्त्रालयका तर्फबाट यो खेतीको प्रवर्द्धनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्।
‘तरबुजा बहस’ मा पोखरा–१३ का अध्यक्ष किरण बराल, कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदिप खतिवडा, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका वैज्ञानिक सन्तोष लोहनी, आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया तथा कृषि उद्यमी रोशन बराल सहभागी थिए।