कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा छैठौं संस्करणको अन्नपूर्ण म्याराथन हुँदैं

प्रतियोगितामा करिब ७० जनाले सहभागिता जनाउँदैछन्

जनसम्मत
जेठ ६, २०८३, बुधबार

यहि जेठ तेस्रो साता छैठौं संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जेठ २० गते म्याराथन हुने भएको हो।

समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७६ औं वर्षगाँठको अवसरमा सो म्याराथन हुादै आएको छ।

हर्जोगको टोलीले ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले बताए।

अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माणका लागि महिला र पुरुष दुवै विधामा प्रतियोगिता आयोजना गरिएको गुरुङले जानकारी दिए।

‘सबै मौसमका लागि पर्यटन’ नारासहित समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, हिन्कुकेभ, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा आएर समापन हुने रुट निर्धारण गरिएको गुरुङले बताए।

अन्नपूर्ण म्याराथनलाई अन्र्तराष्ट्रिय ईभेन्टका रुपमा विकास गर्नेगरी निरन्तर आयोजना गरिदै आएको गुरुङको भनाई छ।

प्रतियोगितामा करिब ७० जना धावकले प्रतिस्पर्धा गर्नेछन्।

हालसम्म ६ देशका ४० धावकले नाम दर्ता गराईसकेका छन्।

उनका अनुसार नेपाल, भारत, हल्याण्ड, थाईल्याण्ड, फ्रान्स र अर्जेन्टिनाका १३ विदेशी धावकहरुले नाम दर्ता गराइसकेका छन्।
जसमा ३ विदेशी धाविकासमेतछन्।

आयोजक समितिका अनुसार अर्जेन्टिनाका चर्चित धावक पाव्लो उरेटाले पनि सहभागिता जनाउनेछन्।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले १ लाख ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै, दोस्रोले १ लाख, तेस्रोले ७५ हजारसहित पदक र प्रमाणपत्र पाउनेछन्।