
पोखरामा क्रियाशील पत्रकार बासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्डबाट सम्मानीत भएका छन्
राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख पौडेललाई मिलेनियम ट्रेक व्यवस्थापन समितिले सो अवार्ड प्रदान गरेको हो।
समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आज (शनिबार) नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा एक समारोहबीच पौडेललाई सो अवार्डबाट सम्मान गरेको हो।
उनलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रसहित अवार्ड प्रदान गरेको हो।
अर्वाडका लागि १ लाख ११ हजार १११ रुपैयाँ अक्षयकोष राखिएको छ।
यसअघि, उक्त अवार्डबाट टान गण्डकी एवं पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बर केसीलाई सम्मान गरेको थियो।
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाच्छा जोडिने मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रुपमा संचालनमा आएको हो।
हिमाली एवं पहाडी भूदृश्यहरू अवलोकन गर्दै बालकदेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिले यो पदयात्रा गर्न सकिन्छ।
यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार, गुफालगायतको अवलोकन गर्न सकिन्छ।
चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य मानिएको यो पदमार्ग ६ रात, ७ दिनको समयावधिमा पदयात्रा गर्न सकिन्छ।
यस पदमार्गभित्र ३ सय प्रजातिका चराहरु पाइन्छ।
नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर यस पदमार्गमा प्रशस्त देख्न सकिन्छ।