जुम्लाका दलबहादुर र मञ्जुले जिते छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन उपाधि

महिलातर्फ, शीर्ष ३ मै जुम्ली धाविकाको क्लिन स्वीप

जनसम्मत
जेठ २१, २०८३, बिहीवार

जुम्लाका दलबहादुर कुँवर र मञ्जु रावतले छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन उपाधि जितेका छन्।

नेपालको प्रख्यात पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित ‘अन्नपूर्ण म्याराथन–२०८३’ प्रतियोगितामा जुम्ली धावकहरूले सान्दार बर्चस्व देखाए।

पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर र महिलातर्फ जुम्लाकै मञ्जु रावतले उत्कृष्ट प्रदर्शन गर्दै यस वर्षको उपाधि चुमे।

पुरुषतर्फका उपाधि विजेता दलबहादुरले ४ घन्टा, ४ मिनेट ११ सेकेन्डमा निर्धारित ४२ कि.मि. पार गर्दै प्रथम बने।

उनले, १ लाख, ५० हजार नगदसहित ट्रफी पुरस्कार पाए।

पुरुषतर्फ, नेपाली सेनाका तिलकबहादुर सुनुवारले ४ घण्टा, १० मिनेट ८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो बने।

तिलकले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

सचिन गुरुङले ४ घण्टा ४९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो बने।

उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

चौथो स्थानमा सोमिन गुरुङ र पाँचौँ स्थानमा रोजन सिर्पाली रहे।

महिलातर्फ जुम्लाकै ‘क्लिन स्वीप’

महिला विधामा जुम्ली धाविकाहरूले पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा गर्दै ऐतिहासिक रेकर्ड राख्दै जुम्लाका नाम लेखाए।

जुम्लाकी मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फको उपाधि चुमिन्।

मञ्जुले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी पुरस्कार जितिन्।

राज्यलक्ष्मी रावलले ६ घण्टा ५७ मिनेट २५ सेकेण्ड लगाउँदै उपविजेता बनिन्।

राज्यलक्ष्मीले उपविजेता बन्दै १ लाख रुपैयाँ पुरस्कार पाइन्।

कल्पना बुढाले ७ घण्टा ५६ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो बनिन्।

कल्पनाले ७५ हजार रुपैयाँ पुरस्कार पाइन्।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान राखेको

ऐतिहासिक दिन (७६ औं वर्षगाँठ) को अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले बुधबार प्रतियोगिताको आयोजना गरेको हो।