काभा महिला भलिबल: प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपाल भारतसँग पराजित

पहिलो खेलमा इरानले बंगलादेशलाई ३-० को सोझो सेटमा हरायो

जनसम्मत
जेठ ८, २०८३, शुक्रबार

काभा महिला भलिबल च्याम्पियनसीपको प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (शुक्रबार) देखि सुरु काभा महिला भलिबल च्याम्पियनसीपमा घरेलु टोली नेपाल भारतसँग पराजित भएको हो।

निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित बन्यो।

भारतले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-१९ र पाँचौँ सेट १५-९ ले जित्यो।

नेपालले पहिलो सेट २५-२१ र चौथो २५-२१ ले जित्यो।

यसअघि, आजै भएको पहिलो खेलमा इरानले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको छ।

नेपालले आफ्नो दोस्रो खेलमा भोलि (शनिबार) किर्गिस्तानसँग खेल्नेछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन्।

समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश छन्।