
काभा महिला भलिबल च्याम्पियनसीपमा घरेलु टोली नेपाल चौथो बनेको छ।
च्याम्पियनसीपको तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग पराजित हुँदै घरेलु नेपालले चौथो स्थानमा चित्त बुझायो।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज (शुक्रबार) भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो।
भारतले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२३ र चौथो सेट २५-२२ ले जित्यो।
नेपालले तेस्रो सेट २५-१५ ले जित्यो।
योसँगै, भारतले तेस्रो स्थानमा रहेर कांस्य पदक जित्यो।
नेपाल चौथो स्थानमा रह्यो।
घरेलु मैदानमा आयोजना भएका पछिल्ला ३ प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो।
प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो साढे ४ बजे इरान र काजकिस्तान खेल्दैछन्।
हिँजो भएको सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको थियो।
प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।
समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश थिए।