‘आचारसंहिता पालना गरे, संचारमाध्यमको विश्वसनीयता बढ्छ’

नयाँ अनलाइनका संचालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण

जनसम्मत
जेठ २९, २०८३, शुक्रबार

प्रेस काउन्सिल नेपालमा सोमबार पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरिएको छ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिताको अक्षरश: पालना भएमा संचारमाध्यमको विश्वसनीयता झनै बढ्ने उल्लेख गरे।

खनालले पत्रकार तथा संचारमाध्यमले सूचना प्रविधिको विकाससँगै बढेको दुष्प्रचारलाई ख्याल गर्नुपर्नेमा जोड दिए।

एआइलगायतका प्रविधिहरूलाई सहयोगी मात्र बनाउन उनले सुझाव दिए।

कार्यक्रममा स्रोतव्यक्ति रहेका रत्नराज्य क्याम्पसका उपप्रध्यापक एवं आमसंचार र पत्रकारिता विभाग प्रमुख डा.जगत नेपालले पत्रकार आचारसंहिताबारे जानकारी गराउँदै तीब्र रुपमा विकास भएको प्रविधिलाई सही रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

प्रविधिको विकासलाई अवसर र चुनौती दुबै आत्मसाथ गर्नुपर्ने उनले औल्याए।

उनले भने, ‘पछिल्लो समय प्रविधिको विकासकै कारण स्वरोजगारमूलक संचारमाध्यमहरू र मूलधारका संचारमाध्यम भन्ने भाष्य हट्दै समान रूपमा बुझ्न थालिएको छ।’

उनले आचारसंहिताका व्यवस्थाबारे प्रष्ट पार्दै तथ्यगत पुष्ट्याइँबेगर सामग्री सम्प्रेषण नगर्न आग्रह गरे।

‘काम गर्दै जाँदा त्रुटी भएमा तत्काल सच्याउनुपर्छ’, उनले सचेत गराए, ‘पछिल्लो समय केही संचार माध्यमले भ्युजका लागि अश्लील र गाली बेइज्जतीलाई प्रश्रय दिइरहेको छ। यसले समग्र संचार माध्यम र पत्रकारको विश्वसनीयता गुम्नेमा सचेत रहनुपर्छ। एकपटक विश्वसनीयता गुमेका संचारमाध्यम फेरि पुरानै अवस्थामा फर्कन कठिन हुन्छ। क्षणिक लाभ नहेरेर तथ्यपरक, विश्वसनीय पत्रकारिता गर्नुपर्छ।’

कार्यक्रममा अर्का स्रोतव्यक्ति पत्रकार थमनप्रसाद भुसाल (टीपी भुसाल) ले निर्देशिकाहरूबारे स्पष्ट पारे।

उनले सत्य र तथ्यको फरक छुट्याउनुपर्ने औंल्याए।

भाइरल सामग्रीले केही क्षण दर्शकको ध्यान खिच्न सकेपनि दीर्घकालीन नहुने उल्लेख गरे।

उनले भने, ‘आचारसंहिता पालना भएमा मात्र व्यावसायिक साख जोगिन्छ। कानुनी कारबाही र विवादबाट मुक्त हुन सकिन्छ। पत्रकारपनि आम नागरिकसरह हुन्छन्। पत्रकार भन्दैमा कानुनी अज्ञानता क्षम्य हुँदैन्।’

बालमैत्री संचार निर्देशिका, २०७३, अपाङ्गतामैत्री संचार निर्देशिका, २०७३, महिला उत्तरदायी संचार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिक संचार निर्देशिका, २०७८ मा उल्लेख भएका व्यवस्थाबारे भुसालले जानकारी गराए।

कार्यक्रममा चालु आर्थिक वर्षमा सूचना तथा प्रसारण विभागबाट अनलाइन संचारमाध्यम संचालनका लागि अनुमति लिएका संचार माध्यमका सम्पादक र संचालकहरूको सहभागिता थियो।

काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराले काउन्सिलबाट हुने कामकारबाहीबारे प्रकाश पार्दै काउन्सिलको अनुगमन र उजुरी सुनुवाईका साथै पछिल्लो समय देखिएका प्रवृत्तिबारे जानकारी गराए।

काउन्सिलका लेखा अधिकृत सिर्जना घिमिरेले सूचीकरणपश्चात अनलाइन संचारमाध्यमहरूले न्यूज पोर्टल संचालन गर्दा ध्यान दिनुपर्ने विषयमा प्रकाश पारिन्।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालको अध्यक्षतामा कार्यक्रम भएको हो।

शाखा अधिकृत सुवास राईले कार्यक्रमको सहजीकरण गरेका थिए।

तस्बीर : प्रेस काउन्सिल नेपाल