खेलकुद पत्रकार मञ्चको एआई तालिम सकियो

तालिममा सिकेका कुराहरू कार्यक्षेत्रमा निकै उपयोगी हुने प्रशिक्षार्थीहरुको विश्वास

जनसम्मत
असार ६, २०८३, शनिबार

पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ सकिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा सुरु तालिम शनिबार सकिएको हो।

तालिममा खेलकुद पत्रकारहरूलाई एआईको सहयोगमा समाचार लेखन, तथ्यांक विश्लेषण, फोटो, अडियो, भिडियो सम्पादन र सामाजिक सञ्जाल व्यवस्थापनमा एआईको भूमिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो।

दुई दिनसम्म चलेको तालिमले पोखराका खेलकुद पत्रकारहरुलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले तालिम समापनमा बोल्दै पत्रकारहरु सधैँ नयाँ सिकाईका लागि भोको हुनुपर्ने बताए।

उनले प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसके व्यावसायिक रुपमा पछि परिने उनको भनाई थियो।

महासंघले पनि पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रविधिमूलक कार्यक्रमलाई प्राथमिकता दिने स्पष्ट पारे।

तालिमका मुख्य प्रशिक्षक अजय शर्माले डिजिटल युगमा पत्रकारिताको आयतन बदलिएकाले प्रविधिसँग डराउनुको साटो यसलाई सहायकका रुपमा लिनुपर्ने उल्लेख गरे।

एआईका उपकरणहरुले पत्रकारको कामलाई छिटो र गुणस्तरीय बनाउन मद्दत पुर्‍याउने उनको भनाई थियो।

प्रशिक्षक शर्माले एआईका विभिन्न सफ्टवेयर र एप्लिकेशनहरु प्रयोग गर्दा पत्रकारिताको मौलिकता र नैतिक पक्षलाई भने सधैँ ध्यानमा राख्नुपर्नेमा जोड दिए।

तालिममा सहभागी प्रशिक्षार्थी पत्रकार दीपक परियारले तालिममा सिकेका कुराहरू कार्यक्षेत्रमा निकै उपयोगी हुने बताए।

उनले खेलकुदका समाचार तयार पार्दा एआईका उपकरण प्रयोग गरेर कसरी समयको बचत र सामग्रीको विविधीकरण गर्न सकिन्छ भन्ने कुरा व्यवहारिक रुपमै सिक्न पाइएको अनुभव सुनाए।

अर्की प्रशिक्षार्थी पत्रकार रोजी श्रेष्ठले बदलिँदो पत्रकारिताको परिवेशमा यस्तो प्राविधिक तालिमले पत्रकारहरूको आत्मविश्वास बढाएको भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरुलाई निरन्तरता दिनुपर्ने धारणा राखिन्।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो।

मञ्चका महासचिव पर्शुराम शर्माले कार्यक्रम संचालन गरेका थिए।

दुई दिनसम्म संचालन भएको तालिममा उल्लेख्य पत्रकारहरुको सहभागिता थियो।

उनीहरुलाई पत्रकार अजय शर्मा र सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीलगायतले प्रशिक्षण दिएका थिए।