कृष्ण क्षत्री ‘उदय’ को २ कृतिको लोकार्पण

मनको चिन्तनलाई ‘जीवन सुदर्शन’ र ‘जिन्दगीका अदृश्य किरण’ पुस्तकमा लिपिबद्ध

जनसम्मत
असार १२, २०८३, शुक्रबार

लेखक तथा सर्जक कृष्ण क्षत्री ‘उदय’ को २ कृतिहरु ‘जीवन सुदर्शन’ र ‘जिन्दगीका अदृश्य किरण’ को लोकार्पण गरिएको छ।

लेखक तथा सर्जक क्षत्रीका बुबा सुवेदार देवीलाल क्षत्री र आमा शुभकुमारी क्षत्रीको ८४ औं जन्मोत्सवका अवसरमा सो कृतिहरुको लोकार्पण गरिएको हो।

बाँगे-पोखरा सामुदायिक मिलन चौतारीले पोखरामा विहीबार एक कार्यक्रम आयोजना गरी कृतिहरुको लोकार्पण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’, चौतारीका अध्यक्ष नरहरी पनेरु, उप-प्राध्यापक कल्याण पन्त, समालोचक असफल गौतम, कृतिकारका माता-पितालगायतले एकसाथ कृतिहरुको लोकार्पण गरे।

प्रमुख अतिथि शाहले लेखक क्षत्रीले आफ्ना पुस्तकमा जीवन जिउने कलालाई समेटेको चर्चा गरे।

उनले भने, ‘कलाभित्रका ६४ कलामध्ये जीवन जीउने कला सबैभन्दा महत्वपूर्ण हुन्छ। बजारमा सबै कुरा किनेर पाइएपनि संस्कार परिवार र असल संगतबाट मात्र प्राप्त हुन्छ। त्यस्तै, लेखक क्षत्री असल संस्कार एवं सम्भावनाले युक्त प्रतिभा हुन्।’

उपप्राध्यापक कल्याण पन्तले ‘जीवन सुदर्शन’ कृतिको समीक्षा गर्दै पृथक विषयमा लेखिएको कृतिलाई बिरामी मनलाई आनन्दित तुल्याउने उपचार तथा औषधिका रूपमा चित्रण गरे।

कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले ‘जिन्दगीका अदृश्य किरण’ हाम्रा मिथक, पात्र, परिवेश र चिन्तनलाई केन्द्र बनाएर लेखिएको किताब उनको जीवनदर्शनको पाश्र्वचित्र रहेको धारणा राखे।

बृहत् फेदीखोला–पोखरा सम्पर्क समाजका अध्यक्ष विजय पौडेलले स्रष्टा परिचय राख्दै कृष्ण क्षत्री व्यक्ति नभएर सकारात्मक विचारको पर्याय भएको दाबी गरे।

समाजसेवी चेतनादास शर्माले क्षत्रीलाई सम्भावनायुक्त प्रतिभाका रुपमा चिनाए।

समाजसेवी पुष्पराज बरालले क्षत्री असल कर्मले जिन्दगीको ज्योति जगाइरहने बहुआयामिक समाजसेवी व्यक्तित्व रहेको औल्याए।

स्रष्टा कृष्ण क्षत्री ‘उदय’ ले हरेकले जिन्दगी सुखी भएर जिउन सकून् भन्ने चेतना जगाउन मनको चिन्तनलाई पुस्तकमा लिपिबद्ध गरेको बताए।