गण्डकी प्रदेश सरकारको २०८३/०८४ नीति तथा कार्यक्रम पारित

प्रदेश प्रमुख डिल्लीराज भट्टले गत मंगलबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए

जनसम्मत
जेठ २३, २०८३, शनिबार

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए।

सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव प्रदेशसभाले सर्वसम्मत् पारित गरेको हो।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गत मंगलबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा ३ दिनसम्म छलफल भएको थियो।

शुक्रबार भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदस्य दलका नेता पञ्चराम गुरुङ्लगायतले नीति तथा कार्यक्रममाथि आ–आफ्ना धारणा राखेका थिए।