
महिला पत्रकारहरुको संस्था संचारिका समूह नेपालको गण्डकी प्रदेश समितिको टोली कास्कीको पर्यटकीय क्षेत्र पंचासे पुगेको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा संचारिका गण्डकीको टोलीले ‘पंचासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ गरेको हो।
‘पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लाका बिभिन्न संचारमाध्यममा कार्यरत २१ जना पत्रकारको सहभागिता रहेका थियो।
पोखरा महानगरपालिका-२३ अन्तर्गत पर्ने पंचासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार-प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।
संचारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कडेलले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा प्रभावकारी रूपमा कलम चलाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
यस्ता अवलोकन भ्रमणले पत्रकारहरूलाई स्थानीय पर्यटनबारे प्रत्यक्ष जानकारी प्राप्त हुने र त्यसलाई समाचार तथा फिचरमार्फत जनसमक्ष पु-याउन सहज हुने उनको भनाई थियो।
पंचासे क्षेत्र पोखरा–२३ मा पर्ने भएपनि कास्की पर्बत र स्यांङ्जा जिल्लाको संगमस्थल हो।
यो क्षेत्र जैविक बिबिधताको दृष्टिकोणले र पर्यटकीय दृष्टिकोणले सम्भावना धेरै भएको क्षेत्रको रुपमा चिनिन्छ।
भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पंचासेका प्रमुख पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सुन्दरता, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको अवलोकन गरे।