
पोखरामा ५ जना अग्रज पत्रकारहरु सम्मानीत भएका छन्।
गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले शनिबार आयोजना गरेको गण्डकी मिडिया समिट-२०८३ समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो।
अग्रज पत्रकारहरु स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, प्रेमचन्द्र रौनियार, विश्वबन्धु भण्डारी र सरस्वती शर्मा ‘जिज्ञासु’ लाई सम्मान गरेको हो।
पोखरामा पत्रकारिताका धरोहर मानिएका स्व पराजुलीलाई मरणोपरान्त सम्मान गरेको हो।
पराजुलीको गत मंगलबार राति मात्रै ९२ वर्षको उमेरमा निधन भएको थियो।
रौनियार नवलपुर, भण्डारी तनहुँ र जिज्ञासु पर्वतकी हुन्।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे।
स्व. पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे।
स्व. पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुन्।
पोखरेली ‘नवरत्न सम्मान’ बाट सम्मानीत उनी स्वतन्त्रता सेनानीसमेत हुन्।
उनले लेखेको समाचारकै कारण पृथ्वीनारायण क्याम्पसले जग्गा पाएको इतिहास छ।
गुभाजू, पोखराकै अग्रज पत्रकार हुन्।
उनी, हाल पोखराबाट निस्कने राष्ट्रिय दैनिक पत्रिका आदर्श समाजसँग आवद्ध छन्।
उनी, आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन्।
२०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिका हुँदै गुभाजूले ‘राष्ट्र पुकार’ साप्ताहिकबाट पत्रकारिता थालेका हुन्।
गुभाजू गत वर्ष पोखरेली ‘नवरत्न सम्मान’ बाट सम्मानीत भएका थिए।
अर्का अग्रज पत्रकार प्रेमचन्द्र रौनियार ३ दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकाछन्।
रौनियार, हाल एभिन्यूुजका संवाददाता हुन्।
तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आएका छन्।
उनको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका (२०३९ सालदेखि) निरन्तर प्रकाशित छ।
उनले समाचार मात्र लेखनन्, इतिहास पनि लेखे।
सरस्वती शर्मा ‘जिज्ञासु’ समाज परिवर्तनकी अभियन्ता र साहित्यकारको रुपमा परिचित छन्।
पर्वतमा उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजसम्म पनि साहित्यिक पत्रिका निस्कन्छ।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै इतिहास अभिलेखीकरणबाट मात्र बाँच्ने उल्लेख गरिन्।
भण्डारीले अग्रज पत्रकारको सम्मानको थालनी गरिएको प्रस्ट पारिन्।
उनले भनिन्, ‘यदि संघर्ष, अनुभव र योगदान दस्तावेजीकरण गरिएन भने एउटा पुस्ताको सम्पूर्ण अनुभव हराउँदै र बिर्सदै जान्छ। त्यसैले, अग्रज पत्रकारको जीवन, संघर्ष, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रुपमा सुरक्षित गर्ने अभियान प्रारम्भ गरेका हौं।’
उनले सत्य, निष्पक्ष, व्यावसायिकता र उत्तरदायित्वमा आधारित पत्रकारितालाई सुदृढ बनाउन प्रेस रजिष्ट्रारको कार्यालय लागिपरेको बताइन्।
सम्मानित पत्रकारतर्फबाट विश्वबन्धु भण्डारीले सम्मानप्रति खुसी व्यक्त गर्दै शासक र जनताबीच रहेर काम गर्ने पत्रकार नै रहेको बताए।
सम्मानीत व्यक्तित्वहरुका बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरियो।
अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो।
सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ गण्डकीका पूर्वअध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल र प्रेस रजिष्ट्रार बिमला भण्डारी थिए।