पत्रकारहरुलाई सत्य लेख्न र बोल्न कसैले छेक्न पाउँदैन

‘स्वच्छ प्रेस : समुन्नत गण्डकी प्रदेश’

जनसम्मत
असार २०, २०८३, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारहरुलाई सत्य लेख्न र बोल्न कसैले छेक्न नसक्ने औंल्याएका छन्।

पोखरामा शनिबार प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘मिडिया सम्मिट-२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘म स्वतन्त्र प्रेसको पक्षमा छु। ‘प्रेस स्वतन्त्र हुनुपर्छ भन्नेमा दुईमत छैन । सत्य बोल्ने र सत्य लेख्न कसैले छेक्न पाइँदैन। आज प्रविधिसँगसँगै आमसंचार जगतले फड्को मारेको र त्यत्तिकै चुनौती पनि थपिएको छ।’

स्वतन्त्रताको पक्षमा लड्न उनले आग्रह गरे।

संघीय लोकतान्त्रिक व्यवस्थामा नै प्रेस स्वतन्त्रता रहने उनले औंल्याए।

स्वतन्त्रताको बारेमा दुर्भावना जगाउनेगरी कलम नचलाउन उनको आग्रह थियो।

व्यवस्थाको बारेमा कलम चलाउँदा संवेदनशील बन्नुपर्ने उनले औंल्याए।

‘जब, यो व्यवस्था नै रहेन भने सबैभन्दा पहिले पत्रकारहरुकै कलम भाँचिन्छ। स्वतन्त्रतालाई हनन गर्ने कसैको सरकार आयो भने सबैभन्दा पहिलो प्रहारनै प्रेस जगतमाथि हुन्छ। तपाइँहरुको कलम भाँचिएपछि मात्रै अधिनायकवादीहरुले क्रमशः अर्को कदमहरु चाल्दै जान्छन्’, उनको तर्क थियो।

मेन स्ट्रिमको मिडिया र सामाजिक सञ्जालको छुट्टछुट्टै विषयलाई पाठक, स्रोतामा बुझाउनुपर्ने उनले धारणा राखे।

मुख्यमन्त्री पाण्डेले सरकारको खबरदारी गर्न संचारमाध्यमहरुलाई आग्रहसमेत गरे।

उनले अहिलेको प्रजातन्त्रलाई गाइडेड प्रजातन्त्रको संज्ञा दिए।

अहिले, बदलाको भावनामा प्रजातन्त्र चलेको उनको भनाई थियो।

प्रजातन्त्र बदलाको भावना र शाशकहरु स्वेच्छारी बन्न नहुनेमा उनले जोड दिए।

उनले भने, ‘सरकार स्वेच्छाचारी बन्ने र बदलाको भावनमा चल्न थाल्यो भने मुलुक फेरि द्वनद्वमा फस्न सक्छ। संघीयताको विषयमा सरकार र

सरकार चलाउने पार्टीको आधिकारिक धारण आउनुप-यो । परिवर्तनको नाममा संघीयता खारेज गर्न खोज्ने हो भने ढिलोचाँडो मुलुकमा फेरि द्वन्द्व निम्तिन्छ।’

स्वतन्त्र कलमको पक्षमा आफू सधैं पत्रकारहरुसँगै रहेको उनले प्रष्ट पारे।

सत्य कुरालाई संचारमाध्यमले बाहिर ल्याउन उनले आग्रह गरे।

उनले मिडियामा लेखिने र देखिने कुराहरु सत्यमा आधारित हुनुपर्नेमा जोड दिए।

‘प्रविधिको विकाससँगै अन्य क्षेत्रमा पनि परिवर्तनहरु भएका छन्। शिक्षा, स्वास्थ्य र निजी क्षेत्रमा भएका सहज वातावरण र परिवर्तनहरुका बारेमा पनि संचारमाध्यमहरुले भएको सत्य बोल्नुप-यो’, उनले भने।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अहिलेको मिडिया संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सरकारको नीतिको महासंघले निरन्तर विरोध गर्दै आएको बताए।

पत्रकारलाई स्वास्थ्य बिमामा अपेक्षाकृत बजेट काटेर आएकोमा पौडेलले गुनासो गरे।

नवीकरण फेल भएका संचारमाध्यमलाई एकपल्ट छुट गरेर नवीकरणको सुविधा दिन उनले माग गरे ।